काठमाडौं– नारायणहिटी संग्रहालयभित्र राखिएको श्रीपेच चोर्न खोजेको आरोपमा २५ वर्षीय खिमबहादुर घर्ती पक्राउ परेका छन्। राजा हुन्छु भन्दै श्रीपेच राखिएको ठाउँको सिसा फोड्ने प्रयास गरेको आरोपमा पश्चिम रुकुमका घर्ती पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। उनी शुक्रबार दरबार संग्रहालयको अवलोकनका लागि त्यहाँ पुगेका थिए।
बस्नेतका अनुसार घर्तीले ‘श्रीपेच निकालेर लगाउँछु, म राजा हुन्छु भनेर यस्तो गरेको' बताएका छन्। श्रीपेच राखेको ठाउँको सिसा फोड्ने प्रयास गरेपछि घर्तीलाई सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
प्रहरीका अनुसार घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सिसा फोड्ने प्रयास गरेका थिए। पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठिक नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।