काठमाडौं– कोरोना भाइरसको महामारीका कारण चैत ५ गतेदेखि देशभरका सिनेमा हल बन्द छन्। सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै बन्द भएका सिनेमा हल खुल्ने टुंगो छैन।
लकडाउन खुलेसँगै थुप्रै क्षेत्रमा चहलपहल बढे पनि हल खुल्न सकेको छैन। शिक्षण संस्था र फिल्म हल कोरोना संक्रमण फैलाउन बढी जिम्मेवार हुन सक्ने देखेरै होला विश्वका अन्य देशले पनि अवस्था यस्तै छ।
छिमेकी भारतले भने अक्टोबर १५ देखि सिनेमा हल खोल्न अनुमति दिएको छ। स्वास्थ्य मापदण्ड पालना गरी क्षमताको ५० प्रतिशत मात्रै दर्शक राखेर सिनेमा हल सञ्चालन गर्न दिने सरकारको निर्णयपछि भारतको सिनेमा क्षेत्रमा चहलपहल सुरु भएको छ।
नेपाली सिनेमा हलले अहिलेसम्म करोडौंको घाटा बेहोरिसकेका छन्। सिनेमा हल खोल्नु पाऊँ भनेर हल सञ्चालकले विभिन्न सरकारी निकायमा अनुनय गरिसकेका छन्। चलचित्रसँग सम्बन्धित विभिन्न संघका साथै चलचित्र विकास बोर्डले समेत सरकारलाई दबाब दिएको छ। सरकारले यसबारे ठोस निर्णय गरिसकेको छैन। बरु कोरोना भाइरसका सक्रिय संक्रमित थपिँदै जाँदा फेरि कहिलेदेखि लकडाउन गर्ने भन्ने तयारीमा सरकार जुटेको छ।
स्वास्थ्य मन्त्रालय मातहतको इन्सिडेन्ट कमान्ड सिस्टमले २६ हजार सक्रिय संक्रमित पुगेमा पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ। त्यसैले तत्काल सिनेमा हल खोल्ने आस गर्न सकिँदैन।
भारतलगायतका देशले कसरी हल सञ्चालन गर्दैछन्, नेपालमा कसरी गर्न सकिन्छ जस्ता विषय समेटेर नेपाल चलचित्र संघले सरकारलाई प्रतिवेदन बुझाएको छ।
संघका अध्यक्ष मधुसूदन प्रधान कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर प्रतिवेदन बुझाइएको बताउँछन्। उनका अनुसार देशभरका झन्डै २०० हल बन्द हुँदा एक अर्बभन्दा बढीको क्षति भइसकेको छ। ४० हजार मजदुरलाई पारिश्रमिक दिन गाह्रो परिसकेको छ। सुरुको एक–दुई महिना नियमित रुपमा पारिश्रमिक दिएका सिनेमा हलहरु अब कसरी तलब दिने भनेर अन्योलमा परेको प्रधान बताउँछन्।
निर्माताको व्यथा पनि उस्तै छ। कोरोना महामारीअघि छायांकन सम्पन्न भएर पोस्ट प्रोडक्सन तथा रिलिजको मिति पर्खिरहेका झन्डै ६० वटा चलचित्र कम्प्युटरमै थन्किएका छन्। ती चलचित्र रिलिज नहुँदा निर्माताको करोडौं लगानी डुब्ने अवस्थामा छ। बैंकबाट ऋण लिएर निर्माण गरेका चलचित्र थन्किएर बस्दा निर्माता चर्को ब्याजको मारमा पर्दै गएका छन्। सरकारले सहुलियतका कार्यक्रम दिने बताए पनि बैंकहरुले भने तत्काल ऋण तिर्न ताकेता गरिसकेका छन्।
प्रविधि सम्पन्न मुलुकमा लकडाउनको बीचमा पनि विभिन्न ‘डिजिटल प्लेटमर्फ’ हरुबाट चलचित्र रिलिज भए। त्यस्ता डिजिटल प्लेटफर्मले चलचित्र सुरुमै किनिदिने भएकाले अन्य देशमा निर्मातालाई केही सजिलो भएको निर्माता गोविन्द शाही बताउँछन्।
नेपालमा भने डिजिटल प्लेटफर्म छैन। बाहिरका प्लेटफर्म प्रयोग गर्दा ठूलो पैसा विदेश जान्छ। त्यसबाहेक बाहिरका त्यस्ता प्लेटफर्म प्रयोग गर्न नेपालमा वैधानिक ‘पेमेन्ट गेटवे’ पनि छैनन्। सबैको पहुँचमा रहेको युट्युबबाट मात्र रिलिज गरेर चलचित्रले लगानी उठाउन सक्ने कुरै भएन।
सरकारी अधिकारीहरूले चलचित्रसँग सम्बन्धित संघहरुका प्रतिनिधिसँगको भेटमा ‘हुन्छ, नआतिनुस्, हामी गर्दैछौं’ भन्छन् तर स्पष्ट गाइडलाइनको कुनै तयारी छैन। संघहरुले दिएको गाइडलाइनको नमुना कहाँ थन्किन्छ, अत्तोपत्तो हुँदैन। तैपनि दसैंको मौका पारेर सिनेमा हल सञ्चालन गर्ने गरी काम भइरहेको चलचित्र विकास बोर्डका अधिकारी बताउँछन्।
बोर्डका सदस्य नरेन्द्र महर्जनले दसैंसम्ममा सिनेमा हल खुल्ने बताए। हल सञ्चालनको टुंगो छैन, अरु कुनै उपायबाट सिनेमा बेच्न वा चलाउन सकिँदैन तर यही अन्योलबीच नयाँ सिनेमाको छायांकन सुरु भएको छ। कोभिड–१९ कै कारण गत वर्षदेखि रोकिएका, छायांकनमा जानै लाग्दा अड्किएका फिल्म छायांकन हुँदै छन्।
विकास बोर्डका सदस्य महर्जनका अनुसार लकडाउन खुलेपछि चलचित्र विकास बोर्डमा १४ वटा सिनेमा दर्ता भइसकेका छन्।
निर्देशकसमेत रहेका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले यसै साता नयाँ चलचित्र घोषणा गरेका छन्। नाम नजुराइसकेका उनको फिल्म केही दिनमै छायांकनमा जानेछ।
निर्देशक अर्पण थापाले आगामी पुस १७ गते रिलिज गर्ने गरी ‘तीन जन्तु’ फिल्मको तयारी धमाधम गरिरहेका छन्। फिल्मको टिजर सार्वजनिक भइसकेको छ। अन्य निर्माता पनि छायांकनमा जुटेका छन्।
त्यसो त निर्देशक सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ दसैंको छेको पारेर प्रदर्शनका लागि तयारी अवस्थामा छ। निर्देशक सोभित बस्नेत पनि आफ्नो नयाँ फिल्म दसैंमै प्रदर्शन गर्ने तयारीमा छन्।
अर्कोतर्फ कोरोना भाइरसबाट संक्रमित हुनेको दर दैनिक रुपमा बढिरहेको छ। ८२ हजारभन्दा बढी संक्रमित पुगिसकेको अवस्था छ भने २१ हजार बढी सक्रिय संक्रमित छन्।
सिनेमाले मुख्य रुपमा व्यापार गर्ने दसैंलगायतका चाड पर्वमा हो। धेरै सफल भएका भनिएका सिनेमा धेरैजसो चाड पर्वकै समयमा रिलिज भएका हुन्। तर विकास बोर्डले भने जसरी दसैंमै सिनेमा हल सञ्चालन हुन सक्ने अवस्था देखिँदैन।
यस वर्ष नाफाका लागि नभई ‘सर्भाइभ’ का लागि मात्रै भए पनि सिनेमा क्षेत्र सरकारले खोलोस् भन्ने चाहना निर्माताको छ। निर्माता शाही भन्छन्, ‘नाफा कमाउँला भन्ने भन्दा पनि तयार भएका सिनेमा चलाउन पाइयो भने ऋण तिर्नलाई केही सहज हुन्छ कि भन्ने आशा छ।’
चलचित्र निर्माताहरु सरकारले केही न केही राहत कार्यक्रम ल्याउने भरोसामा छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा यस्ता राहतका थुप्रै कार्यक्रम समेटेको पनि छ। कोरोना महामारीकै बीचमा आएको बजेटमा चलचित्र निर्माणलाई प्रोत्साहन, ऋणमा सहुलियतजस्ता लोकप्रिय कार्यक्रम समेटिएको छ। तर निर्माताहरु प्रोत्साहन कार्यक्रम बजेट किताबमै सीमित हुने हो कि भन्नेमा सशंकित छन्।
विकास बोर्डमा दर्ता हुन आउने चलचित्रका लागि ऋण प्रक्रियामा गएपछि केही निश्चित प्रतिशत रकम सरकारको जमानीमा पाइयोस् भन्ने निर्माताहरुको चाहना छ। महामारीका बीचमा सिनेमा क्षेत्रको उत्थानका लागि सरकारले हल सञ्चालनको गाइडलाइनका साथै बजेट कार्यान्वयनमा तत्काल तदारुकता देखाउन आवश्यक देखिन्छ।