काठमाडौं- इजरायल जानका आवेदन दिएकामध्ये करिब २८ सय जनाको कागजपत्र नक्कली पेश भएको खुलेको छ। वैदेशिक रोजगार विभागले अनलाइनबाट परेका आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन अस्वीकृत गरेको छ।
संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले करिब २८ सय कागजपत्र नक्कली भएको पाइएको बताए।
उनले ९ हजार ६ सय ९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जना मात्रै परीक्षामा सहभागी हुन योग्य ठहरिएको जानकारी दिए। उनले रद्द भएका मध्ये कसैले पनि आफ्नो कागजपत्र किन रद्द भयो भनेर नसोधेको बताए।
विभागका अनुसार भदौ २८ गते भएको परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए। कागजपत्र प्रमाणीकरण भएकामध्ये ६९२ जना अनुपस्थित रहेका थिए। विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो।