बुटवल- नेपाली कांग्रेसको गाउँनगर अधिवेशनका लागि गुटगत दुई प्यानल बीच प्रतिपस्र्धा हुने भएको छ। शनिबार हुने नेपाली कांग्रेसको गाउँनगर अधिवेशनका लागि केन्द्रमा रहेको पार्टी सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको हो।
वडातहमा समेत गुट देखिएको रुपन्देहीमा गाउँनगरको अधिवेशनमा दुई प्यानलको उम्मेद्वार घोषणाा भएको हो। राजनीतिक दृष्टिृले निकै अर्थपूर्ण मानिएको रुपन्देहीमा देउवा र पौडेल समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रेका छन्।
बुटवल उपमहानगरपालिकामा कांग्रेस उपमहानगरका सभापति खेलराज पाण्डे र रीता केसीले छुटाछुट्टै प्यानल घोषणा गरेका छन्। पौडेल समूहबाट पाण्डे चुनावी मैदानमा उत्रेका हुन् भने केसी देउवा गुटबाट उठेकी हुन्।
तेस्रो कार्यकालका लागि पाण्डे बुटवल उपमहानगरको सभापतिका लागि चुनावमा उत्रेका हुन्। पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छाँया पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल चुनावी मैदानमा छन्। गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्ला बुटवलको चुनावलाई देउवा पक्षले निकै महत्वका साथ हेरेको छ। महिला उम्मेद्वारका रुपमा केसीलाई देउवा पक्षले अघि सारेको हो।
रुपन्देहीमा १६ स्थानीय तह छन्। यसमध्ये उपमहानगर र नगरमा भने दुई समूहको प्यानल चुनावका लागि तयार भएको छ। गुटका घोषणा सभामा नेताहरू नै सहभागी भएका छन्।
केसीको नेतृत्वमा उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरे रहेका छन्।
त्यस्तै तिलोत्तमामा नगर सभापतिको लागि नारायण न्यौपाने र हरिलाल पाण्डे चुनावी मैदानमा उत्रेका छन्। न्यौपाने पौडेल गुटका हुन् भने पाण्डे देउवा गुटका हुन्। न्यौपाने समूहबाट उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्याय रहेका छन्। यस्तै पाण्डेको नेतृत्वमा घोषणा गरेको प्यानलमा उप–सभापतिमा कल्याण पौडेल र माया चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदीप थापा, सह–सचिवमा रमेश पराजुली र दीपक थापा रहेका छन्।
यस्तै, सैनामैना नगरपालिकामा कृष्णप्रसाद पोखरेल र रणबहादुर खनालसमूहले उम्मेद्वारी घोषणा गरेका छन्। पोखरेल देउवा र खनाल पौडेल पक्षबाट चुनावी मैदानमा होमिएका हुन्। पोखरेललाई केन्द्रीय नेताहरू बालकृष्ण खाण र खनाललाई भरत शाहले साथ दिएका छन्। पोखरेल समूहबाट उपसभापति निलप्रसाद थापा र मिना श्रेष्ठ, सचिव कृष्णप्रसाद कडेल, सुभाष पौडेल, सहसचिव श्यामप्रसाद अधिकारी र सुरेश परियार छन्। खनाल पक्षबाट उपसभापतीमा लोकमणि भट्टराई, लक्ष्मी आचार्य पौडेल, सचिवमा चूडामणि घिमिरे, अर्जुन पौडेल, सहसचिव मनु काउचा र शारदा रौतार चुनावी मैदानमा ओर्लेका छन्।
यस्तै सिद्धार्थनगर नगरसमिति सभापतिमा सञ्जीव शर्मा रेग्मी र कोसिसबहादुर खड्काको समूह चुनावी मैदानमा उत्रेको छ। रेग्मी पौडेल गुटका हुन् भने खड्का देउवा गुटका हुन्। रेग्मी समूहबाट उपसभापतिमा गौरव श्रेष्ठ, घनश्याम यादव, सचिवमा सम्राट थापा, टिकाराम भट्टराई, सह–सचिवमा ओजश शर्मा र प्रतीक भण्डारी चुनावी मैदानमा छन्।
खड्का समूहबाट उपसभापतिमा देवराज न्यौपाने र किरणकुमार घिमिरे, सचिवमा अनिलकुमार केसी र हरिमाया गुरुङ, सहसचिवमा आदर्श गुरुङ (एडी) र कृष्णकुमार चाई रहेका छन्।
रुपन्देहीमा १६ स्थानीय तह छन्। यसमध्ये उपमहानगर र नगरमा भने दुई समूहको प्यानल चुनावका लागि तयार भएको छ। गुटका घोषणा सभामा नेताहरू नै सहभागी भएका छन्। कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक गुटको घोषणा सभामा सहभागी हुँदै आएका छन्। यस्तै पौडेल पक्षका नेताहरू पनि गुटको घोषणा सभामा सहभागी भएका छन्। बोलएको घोषणासभामा आफू गएको सभापति रज्जाकले बताए। उनले गाँउनगर चुनावको सबै तयारी पूरा भएको बताए।