जनकपुरधाम– गणेशमान चारनाथ नगरपालिका कमला नदीको किनारमा छ। पारिपट्टि सिरहा जिल्ला पर्छ। कमला तटमा दर्जनौं बस्ती छन्। बाढीका कारण वर्षायाममा बस्ती सधैं त्रसित हुन्छ। यो त नदीमा बाढी आउँदा पुस्तौंदेखि भोग्नुपरेको समस्या हो।
यहाँका बासिन्दाले केही दशकदेखि भने वर्षभरि अर्को समस्या भोग्दै आएका छन्, त्यो हो कमला तटमा रहेका क्रसर उद्योग।
धनुषाका १८ स्थानीय तहमध्ये गणेशमान चारनाथ नगरपालिकामा सबैभन्दा बढी क्रसर छन्। आसपासका बासिन्दाका लागि क्रसरको धूलो र ठूल्ठूला मेसिनको आवाज सामान्य भइसकेको छ।
क्रसरकै कारण खेतीयोग्य जग्गा नाश भएको छ। नदीजन्य सामग्री उत्खनन गर्दा परेका ठूल्ठूला खाडलमा परेर कयौंको ज्यान जाने गरेको छ। मापदण्डबाहिर गएर उत्खनन गर्नेमाथि कारबाही भएको छैन। उल्टै क्रसर उद्योगको ‘दादागिरी’ चलिरहेको छ यहाँ।
गणेशमान चारनाथ नगरपालिकामा गौरव बालुवा वासिङ प्रशोधन उद्योग, कमलेश्वरी बालुवा प्रशोधन उद्योग, कमला स्टोन क्रसर उद्योग, संकट मोचन क्रसर उद्योग छन्।
कमलामाई क्रसर उद्योग, देवकी बालुवा प्रशोधन उद्योग, समीर बालुवा प्रशोधन उद्योगलगायतले पनि यहाँ नदीजन्य सामान दोहन गरिरहेका छन्।
क्रसरका लागि ल्याइने गिट्टी, बालुवा अवैध रुपमा उत्खनन हुन्छ। गिट्टी–बालुवा उत्खननका लागि टेन्डर निकालिन्छ स्थानीय तहबाट। टेन्डर क्रसर सञ्चालकले नै पाउँछन्।
कमला नदीछेउमै रहेको नवटोली गाउँका धनिकलाल महतो भन्छन्, ‘बेलाबेलामा नदीले धार परिवर्तन गर्छ। नदीले बस्ती बगायो भने कहाँ जानु?’
उनको जग्गा क्रसर छेउमै छ। ‘क्रसर सञ्चालनमा ल्याओस् वा नल्याओस् मतलब छैन। मेरो जग्गा पनि उत्खनन गर्ने हुन् कि भन्ने डर छ। त्यसैले दिनहुँ जग्गा हेर्न आउनुपर्छ’, उनको गुनासो छ।
तीनतीन वटा क्रसरको आवाजका कारण नवटोलीका बासिन्दा रातभर सुत्न पाउँदैनन्। स्थानीय रामलोचन ठाकुर भन्छन्, ‘रातभर चल्ने मेसिनको आवाजले सुत्न पाउँदैनौं। जागै बस्नुपर्छ।’
उज्यालो हुनेबित्तिकै ट्रिपर आतंक सुरु हुन्छ। दिनभर गाउँको सडक भएर बालुवागिट्टी ढुवानी हुन्छ। बालबालिकालाई किच्ला कि भन्ने सधैं त्रास रहेको उनको भनाइ छ।
नवटोलीका स्थानीय लक्ष्मण दास बस्तीभित्र बालुवा–गिट्टी बोकेका टिपर गुड्न प्रतिबन्ध लगाइएको बताउँछन्।
गाउँले मिलेर क्रसर आतंक रोक्न सकिन्न भन्ने जिज्ञासामा उनी भन्छन्, ‘आवाज त उठाउँछौं। तर उद्योगीले ज्यान मार्ने धम्की दिन्छन्। ज्यान बचाउनु कि विरोध गर्नु?’
कतिपय स्थानीय बासिन्दा क्रसर सञ्चालकको डरले बोल्नै चाहँदैनन्। क्रसर सुरक्षाका नाममा गाउँ, टोल र चोकमा सञ्चालकले ‘गुन्डा’ परिचालन गरेका हुन्छन्। क्रसर सञ्चालकको विरोध गरे उनीहरूले नै मार्ने धम्की दिने गरेको गुनासो स्थानीयको छ।
स्थानीयले अवधै उत्खननबारे जिल्ला प्रहरी, प्रशासन र प्रदेश सरकारलाई पटकपटक जानकारी गराएका छन्। प्रशासन मौन छ। अवैध उत्खनन जारी छ। प्रशासन मुक दर्शक बनेको स्थानीय चन्द्रदीप यादव बताउँछन्।
‘अवैध उत्खनन रोक्न पत्राचार गरे पनि स्थानीय प्रशासन र जनप्रतिनिधिले टेर्दैनन्’, उनले भने, ‘प्रहरीलाई जानकारी गराउँदा कारबाही हुँदैन। हामी उत्खनन गरेको देख्छौं। प्रहरी प्रशासन देख्दैन।’
अवैध उत्खननका कारण नदीछेउका खेतमा ३० देखि ४० फिट गहिरो खाडल बनेका छन्। वडा नम्बर ८ चितहाका शिवजी ठाकुरका अनुसार क्रसरले आसपासका जंगलमा पनि असर गरेको छ।
उनी भन्छन्, ‘मापदण्ड नाम मात्रैको छ। खाडल हेर्ने हो भने मजस्ता दुई व्यक्तिलाई डुबाइदिन्छ।’ नगर प्रमुख आफ्नै क्रसर उद्योग रहेकाले खुलेर विरोध गर्न नसकिएको स्थानीय बताउँछन्।
स्थानीय रामलोचन ठाकुरले भने ‘मेयर साहबको आफ्नै लगानी छ। उत्खननको ठेक्कापट्ट उहाँले नै लिँदै आउनुभएको छ।’ क्रसरका समस्या सुनाउँदा नगर प्रमुख सधैं पन्छिन गरेको उनले बताए ।
कमलामाई क्रसर उद्योगका सञ्चालक बेचन शर्माले मापदण्डभित्रै रहेर क्रसर सञ्चालन गर्दै आएको दाबी गरे। उनी भन्छन्, ‘मैले मापदण्डभित्रै रहेर काम गर्दै आएको छु, जो मापदण्डबाहिर छ, उसलाई सोध्नुस्।’
शर्माले आफ्नो क्रसर उद्योगले बर्सेनि राजस्व बुझाउँदै आएको बताए। उनले मापदण्डबाहिर गएर नखनेको पनि दाबी गरे। लिज लिएको जग्गामा मात्रै गिट्टीबालुवा झिक्ने गरेको उनको भनाइ छ।
गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादव क्रसर आतंक रोक्नु आफ्नो बुँतामा नरहेको बताउँछन्।
‘हामी रोक्न तयार छौं। तर सञ्चालकले माथिबाटै चिठी लिएर आउँछन्’, उनी भन्छन्, ‘सीडीओदेखि एसपी–डीएसपी सबैको मिलोमतोमा उत्खनन भइरहेको छ। नियन्त्रण गर्न मैले मात्र कहाँ सक्छु र?’
जिल्ला समन्वयन समितिका उपसभापति दीपक झाले पनि क्रसर उद्योगलाई राजनीतिक संरक्षण रहेकाले उनीहरूमाथि कारबाही गर्न चुनौती रहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले दिएको निर्देशन क्रसर उद्योगीले टेर्दैनन्। त्यसैले हामी पनि निरीह छौं।’
क्रसर उद्योग बन्द गर्न प्रशासनले आफूहरूलाई साथ नदिएको गुनासो उनको छ। उनले भने, ‘हामीले कारबाहीका लागि सिफारिस गछौं। स्थानीय प्रशासन गुहार्छौं तर प्रशासन मुकदर्शन भइदिन्छ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीयको जिउज्यानमा क्षति नहुने गरी क्रसर उद्योग सञ्चालन भइरहेको दाबी गरे।
उनले भने, ‘जिल्लाको शान्ति सुरक्षाको जिम्मा हाम्रो नै हो। हामी शान्तिसुरक्षा दिन सदैव तत्पर छौं। बदमासी गर्ने छुट कसैलाई छैन।’
क्रसर उद्योगहरुले अवैध उत्खनन् गर्दै आएको विषयमा आफू जानकारी रहेको भन्दै उनले यस विषयमा अनुगमन गरेर कडाइ गरिने प्रतिबद्धता जनाए।