काठमाडौं- यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा पुग्ने प्रक्षेपण गरिएको छ। संयुक्त राष्ट्र खाद्य निकायका प्रमुख डेविड बीसले चेतावनी दिँदै यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्।
वित्त पोषण नमिले अक्टुबरबाट युद्धग्रस्त देशमा लाखौं मानिसको खाद्यान्न कटौती हुने बताइएको छ। यसो गर्दा त्यहाँका मानिसको जीवन झनै कष्टकर हुनेछ।
डेविड बीसले यमनमा मानवीय संकटमाथि एक उच्च स्तरीय बैठकमा भनेका छन्, 'यस वर्षको सुरुमा जब विश्व खाद्य कार्यक्रममा वित्त पोषणको कमी भइरहेको थियो तब अमेरिका, जर्मनी, यूएई, साउदी अरब र अन्य दानदाता अगाडि आएकै कारण खाद्य विपत्तिलाई टार्ट सकिएको हो।'
उनले विश्व खाद्य कार्यक्रममा एक पटक फेरि वित्त पोषणको कमी भइरहेको बताएका छन्। यस्तो अवस्थामा अक्टुबरमा ३२ लाख र डिसेम्बरमा ५० लाख मानिसको खाद्यान्न कटौती गरिने छ।
मार्चमा संयुक्त राष्ट्र महासचिव एन्तोनियो गुटेरसले यस वर्ष यमनका लागि ३.८५ अबर डलरको सहयोग दिने अपील गरेका थिए। तर, दानदाताले १.७ अबर डलर दिने संकल्प जनाएका थिए। यसलाई गुटेरसले निराशाजनक भएको बताएका छन्।
- एजेन्सी