काठमाडौं– संगीतकार एवम् गायक नारायण रायमाझीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेका गीतमा धुन भर्ने वर्षाैंदेखिकाे धोको थियो। एउटा कार्यक्रममा भेट भएका बेला रायमाझीले त्यो सपना सुनाइहाले।
कविवर घिमिरेले जोसुकैलाई हतपती आफ्ना गीत दिँदैनथे। लोकसंगीतका क्षेत्रमा चर्चा कमाइसकेका रायमाझी भने भाग्यमानी ठहरिए। कविवरले नाइँ भन्न सकेनन्। तर, एउटा सर्त राखे– संगीत मलाई मन परेन भने अस्वीकृत हुन्छ है त?
रायमाझीलाई सर्त मञ्जुर भयो। उनमा कविको चित्त बुझाउन सक्छु भन्ने विश्वास थियो। अनुमति पाएपछि गीतको शब्द कविवरले दिइरहनै परेन। घिमिरेका गीत– कविताको संकलन संगीतकार रायमाझीसँगै थियो।
केही दिनपछि रायमाझीले राष्ट्रकविको ‘उनको प्रीति पहिले हो कि, मेरो प्रीति पहिले’ मा संगीत भरेर कविवरलाई सुनाउन उनको निवासमा पुगे। लोक–आधुनिक स्वादमा तयार पारिएको संगीत सुनेर प्रफुल्लित राष्ट्रकविले लोक–आधुनिक संगीतसँगको आफ्नो सामीप्यको कथा सुनाए। आफूलाई मनपर्ने आफ्नै सिर्जनाका पत्र छानी–छानी सुनाए। ती पत्र कोरिँदाका कहानीको बेलिविस्तार पनि लगाए।
राष्ट्रकविलाई उधृत गर्दै रायमाझी भन्छन्, ‘संगीतमा लोकधुन समात्ने तपाईंको विशेषता मलाई मन पर्छ।’ घिमिरेले २०२४ सालमा सिर्जना गरेको ‘उनको प्रीति पहिले हो कि....’ मा धुन भरियो २०६० सालमा।
घिमिरेका मिठा शब्द र आशीर्वाद बोकेर फर्किएका रायमाझीले २०६० वैशाख १२ गते गायकगायिका जगदीश समाल र सपना श्रीको आवाजमा रेकर्ड गराए। यो गीत रातारात चर्चित भयो।
रायमाझीको संगीतमा यो गीत रेकर्ड भएपछि रायमाझीको सपना त साकार भयो नै, यो गीतले हजारौं प्रेमिल मनको मुटुलाई सहजै उद्वेलित पार्याे।
अहिले १७ वर्षपछि संगीतकार रायमाझीले यो गीत फेरि रेकर्ड गराएका छन्– नयाँ पुस्ताका कलाकारको स्वरमा। रियालिटी सोबाट चर्चामा आएका कलाकारद्वय प्रविन बेडवाल र रचना रिमालको स्वरमा रेकर्ड भएको गीत निकै रुचाइएको छ। चल्तीको शब्दमा बयान गर्ने हो भने यो गीत ‘भाइरल’ भएको छ।
प्रविन र रचनाको स्वरमा यो गीत पुनः रेकर्ड हुँदा राष्ट्रकवि घिमिरे बितेको एक महिना पुगेको थियो। भदौ २९ गते नयाँ भर्सनमा युट्युबमार्फत सार्वजनिक यो गीत शुक्रबार दिउँसोसम्म २६ लाखले हेरिसकेका छन्।
पहिले नै ‘अफिसियल’ भिडियोसहित सार्वजनिक भएको यो गीत फेरि किन रेकर्ड गर्नुपर्याे त?
संगीतकार रायमाझी भन्छन्, ‘राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्त गर्न।’ त्यसो त उनी यो गीत पहिल्यैदेखि यो गीत फेरि रेकर्ड गर्न चाहन्थे। यसको कारण हो– यसअघि रेकर्ड भएको गीतमा दुईवटा मात्र अन्तरा छन्। राष्ट्रकवि घिमिरेले दिएको गीतमा तीनवटा अन्तरा थिए।
गीतमा सबैभन्दा बढी रुचाइएको थियो स्थायी :
‘उनको प्रीति पैले हो कि मेरो प्रीति पैले
जान्दिनँ म– एकैचोटि के भो कुुन्नि कैले’
यी अन्तरा पहिले पनि गाइएको थियो
यति राम्रो मुहार हजुर, पैले कहाँ थियो
बल्ल देखें – बलेपछि नजरको दियो
उनको नजर पैले हो कि, मेरो नजर पैले
जान्दिनँ म – एकैचोटि के भो कुुन्नि कैले
एउटा पर्दा उघारेझैं दुईतिर हाँसी
पुरिबको जुन झर्याे पश्चिमबाट ब्याँसी
उनको मुस्कान पैले हो कि मेरो मुस्कान पैले
जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले
सामान्यतया आधुनिक गीतमा एउटा स्थायी र दुईवटा अन्तरा राखिन्छ। चारदेखि पाँच मिनेटसम्मको गीत बनाउने र दुईवटा अन्तरा गाउने प्रचलन छ। गीत रेकर्ड भएपछि घिमिरेले आफूले लेखेको तेस्रो अन्तरा पनि गीतमा राख्न पाएको भए राम्रो हुने इच्छा देखाए।
त्यो अन्तरा थियो :
बेनीघाटमा उनीसित भेट भयो अस्ति
आज लाग्छ सधैंभरि सँगै थिइन जस्ती
उन्को अर्पन पैले हो कि मेरो अर्पन पैले
जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले
एकपटक रेकर्ड भएर तयार भइसकेको र एल्बमका रुपमा बजारमा पनि आइसकेको हुनाले तत्काल अर्को अन्तरा रेकर्ड गर्न केही अप्ठेरो थियो। तर संगीतकार रायमाझीले कविको चाहना पूरा गर्ने अठोट लिए।
उनले यसका लागि उचित समय पर्खिरहेका थिए। गीतका ‘ओरिजिनल’ गायकगायिका अमेरिकातिर भासिए। त्यसपछि दुवै जनालाई सँगै राखेर पुनः रेकर्ड गर्ने चाँजोपाँजो मिलाउन सजिलो भएन। गरौंला भन्दाभन्दै समय घर्किंदै गयो, राष्ट्रकविले पनि संसार छाडे।
राष्ट्रकविलाई तीनवटै अन्तरासहितको गीत सुनाउने धोको अधुरो रहेकोमा संगीतकार रायमाझीको मन कटक्क खायो। अनि उनले आफ्नो अठोटलाई राष्ट्रकविप्रतिको श्रद्धाञ्जलिका रूपमा व्यक्त गर्ने निधो गरे। गायक जगदीश समाल र सपना श्रीसँग तत्काल पुनः रेकर्डिङको काम हुने सम्भावना कम देखेपछि रायमाझीले नयाँ पुस्तासँग काम गर्ने निधो गरे।
जसअनुसार रचना र प्रविन यो गीतमा स्वर भर्न पाउने भाग्यमानी कलाकार बने। गीतको पुनः रेकर्डिङमा पुरानै संगीत छ।
‘नयाँ स्वरमा केही नोट तलमाथि होलान्, तर संगीतमा फेरबदल गरेको छैन’, रायमाझी भन्छन्, ‘पुनः रेकर्डिङका लागि बीबी अनुरागीजीले निकै राम्रो संगीत संयोजन गर्नुभएको छ, उहाँको सीप र शिल्पले अहिले गीत झनै मिठो सुनिएको छ।’
पुनः रेकर्ड गरिएको गीतको मिक्सिङ श्याम श्वेत रसाइलीले गरेका छन्। रत्न विकले बजाएको मिठो बाँसुरीको धुनले गीतलाई झनै कर्णप्रिय बनाइदिएको छ। यो गीत संयोगवश पुनः रेकर्ड भएको हो। म्युजिक भिडियो पनि स्टुडियोमा बसेर लाइभ रेकर्डिङ गरे जसरी सामान्य भिडियो तयार गरिएको छ।
नारायण रायमाझी नेपाली लोकसंगीत क्षेत्रका अध्येता हुन्। उनका रेलीमै भाका वा मारुनी वा सालैजो भाका लोकप्रिय छन्। उनको गीतमा पश्चिम नेपालको संस्कृति मात्र होइन भूगोल नै झङ्कृत हुन्छ।
त्यति मात्र होइन, उनका गीतमा कारगिलको लडाइँ लडेका नेपाली योद्धाको कथा वा परदेशिएका गरिब युवकको व्यथा छचल्किन्छ। नेपाली मौलिकतालाई सिनेमामा समेत उतारिसकेका सफल निर्माता पनि हुन् रायमाझी।
उनको संगीतमा फक्रिएको ‘नमुछे आमा दहीमा टीका’ होस् वा ‘के बर मागी फर्क्याै भन’ जस्ता गीत नेपाली सुगम संगीतमा रमाउनेका लागि कालजयी उपहार हुन्।
त्यसो त गायक तथा संगीतकार रायमाझीले आफ्ना पुराना गीतलाई ‘लाइभ रेकर्डिङ’ मार्फत पुनर्जीवन दिइरहेका छन्। उनका थुप्रै गीत अहिले नयाँ स्वरुपमा देख्न र सुन्न पाइन्छ। पुरानो प्रविधिमा रेकर्ड भएका गीतहरु अहिले सुन्न सजिलो छैन र पाउनै पनि अप्ठेरो छ। त्यसैले पुराना गीतहरु पुनः रेकर्ड गर्न पाए नयाँ पुस्ताले राम्रोसँग सुन्न पाउने विश्वास उनमा छ।