काठमाडौं- गैरआवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। हाल एनआरएन उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
उनले एनआरएन परिषदको २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन्।
'२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ। आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं।’
दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा बेलायतका कुल आचार्य र रुसका डा. बद्री केसीले पनि उम्मेदवारी दिने बताउँदै आएका छन्।
थापाले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई अपिल गरिन्। ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्’ थापाले भनिन्।
परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिइन्। ‘समयमा नै चुनाव हुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ,’ थापाले भनिन्।
अहिले एनआरएनमा सदस्य एक लाख पाँच हजार मात्र रहेकोमा आफू अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउने लक्ष्य रहेको उनले बताइन्। 'आफू वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्वास्थ्य विमा अनिर्वाय हुनुपर्छ,’उनले भनिन्,‘विदेशमा बसेकाहरु पनि नेपाली नागरिकहरुले नेपालमा मतदान गर्नबाट बञ्चित छन् त्यो अधिकार सबैले पाउँनुपर्छ भनेर सरकारसँग म पहल गर्ने छु।’
विदेशमा बस्ने नेपाली पुस्तामा नेपाली भाषा हराउँदै जाने चिन्ता बढेको छ। हामीले आफ्नो भाषा र संस्कृति बचाउन र जोगाउन फिल्म देखाएर वा नाटक देखाएर नेपाली बोल्न सिकाउन सकिने उनले बताइन्।
संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन्। आगामी अक्टोबरमा हुने संघको दशौं महाधिवेशनमा तीन जनाको उम्मेदवारी देखिएको छ। जसमा थापा, कुल आर्चाय र डा. बद्रि केसी रहेका छन्। आचार्य र थापा कांग्रेस निकट र डा.केसीलाई नेकपा एमाले निकटका उम्मेदवारको रुपमा हेरिँदै आएको छ।