नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२१ को मार्चमा बंगलादेश भ्रमण गरेपछि आफ्नो दोस्रो विदेश भ्रमणका क्रममा अमेरिका प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा सहभागी हुनका लागि अमेरिका पुगेका भारतीय प्रधानमन्त्रीले मुख्य तीन उद्देश्यलाई प्राथमिकतामा राखेका छन्। जसमा :
- संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने,
- अमेरिकी राष्ट्रपति जो बाइडेनसँग द्विपक्षीय बैठक गर्ने,
- क्वाडका सदस्य राष्ट्रहरु जापान, अमेरिका र अस्ट्रेलियाका नेताहरुसँग शिखर सम्मेलनमा सहभागी हुने ।
क्वाड सदस्य राष्ट्रका सरकार प्रमुखको भौतिक उपस्थितिमा हुन लागेको यो पहिलो क्वाड शिखर सम्मेलन पनि हो। त्यसैगरि भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच २४ सेप्टेम्बरमा भेटवार्ता हुने भएको छ।
बाइडेन अमेरिकाको राष्ट्रपतिमा नियुक्त भएपछि दुई मुलुकका सरकार प्रमुखहरुको यो पहिलो द्विपक्षीय शिखर सम्मेलन हो। प्रधानमन्त्री मोदीले उपराष्ट्रपति कमला ह्यारिससँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। उपराष्ट्रपति ह्यारिसकी आमा भारतको तामिलनाडुबाट भएकोले पनि भावनात्मक सम्बन्ध रहेको बताइएको छ।
२४ सेप्टेम्बरमा हुने मोदी र बाइडेनको द्विपक्षीय शिखर सम्मेलनमा बहुआयामिक विषयहरुमा छलफल हुने भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बताएका छन्। ह्वाइट हाउसमा हुने उक्त सम्मेलनमा भारतले अफगानिस्तान मामिलालाई उठाउने भएको छ। यससँगै द्विपक्षीय व्यापार, रक्षा र सुरक्षा सहयोग, रणनीतिक स्वच्छ उर्जा साझेदारी बढाउने विषयमा पनि छलफल हुने बताइएको छ। उक्त बैठक ५० मिनेटको हुने भएको छ।