काठमाडौं- अविरल वर्षातका कारण शनिबार राति मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको तटीय क्षेत्रमा थप क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका अनुसार राति साढे नौ बजेतिर आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ वटा र मेलम्ची बजारमा ६ वटा घर बगेका छन्। त्यस्तै, हेलम्बु–४ ग्याल्थुम बजारको झोलुंगे पुल बगाएको छ। ग्याल्थुम बजारका ४० घर जोखिममा रहेको बताइएको छ।
पुल बगेसँगै मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ। मेलम्ची नगरपालिकाका दुई वटा वडा, हेलम्बुको तीन र पाँचपोखरी थाङपाल गाउँपालिकाको दुई वटा वडा जोड्ने यो पुल बगाएसँगै ती वडामा आउजाउ गर्ने बाटो नै बन्द भएको हो।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्चीमा पानीसँगै माटोको लेदो बगिरहेको छ। सामान्य वर्षामा पनि बाढी आएकाले चनौटेभन्दा माथिको क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि फेरि बाढी आएको हुनसक्ने पोखरेलको भनाइ छ।
प्रहरीका अनुसार अनुसार बहाव एक्कासि बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ। प्रहरीले तटवर्ती क्षेत्रका मेलम्ची, बाहुनेपाटी, सिपाघाट, दोलालघाटका बासिन्दालाई सुरक्षित रहन अपिल गरेको छ।
बाढीले मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन ढलेको छ। गत असार १ गते आएको बाढीले उक्त भवन डुबानमा परेको थियो।
असार १ को बाढीमा पाँचको मृत्यु भएको छ। २० जना अझै भेटिएका छैनन्।