बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेरो छोराको हत्याबारे फेरि अनुसन्धान गरियोस् : गंगामाया अधिकारी

मेरो छोराको हत्याबारे फेरि अनुसन्धान गरियोस् : गंगामाया अधिकारी

राज्य नै पीडकहरूलाई संरक्षण गर्न लागिपरेको अवस्थामा कसरी निष्पक्ष र स्वतन्त्र अनुसन्धान थाल्ने होला भनी म उपायहरू खोजिरहेकी छु। धेरै द्वन्द्वपीडितहरू यही प्रश्नको उत्तर खोजिरहेका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

हजुरहरूलाई थाहै छ, न्यायका लागि मैले विगत १७ वर्षदेखि पीडादायी र कठिन यात्रा गरिरहेकी छु। तर २०६१ जेठ २४ गते चितवनको रत्ननगरमा रहेको बकुलहर चोकमा मेरो निर्दोष १७ वर्षीय छोरा कृष्ण प्रसाद अधिकारीका हत्याराहरू अहिलेसम्म पनि स्वतन्त्र घुमिरहेका छन्। आज मेरा पति नन्द प्रसाद अधिकारीको मृत्युको सातौं वार्षिकी परेको छ। मेरो छोराको हत्याको स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान थाल्नका लागि हामीले ३३४ दिनसम्म भोक हडताल गरेको भए पनि राज्यले हामीलाई बेवास्ता गरेपछि मेरा पतिको मृत्यु हडतालका क्रममा अस्पतालमा भएको थियो। यस्तो अवस्था बेहोर्नुपरेको भए पनि म न्यायको आशा राखिरहेकी छु र शान्तिपूर्ण तरिकाले न्यायको माग गरिरहेकी छु। भोक हडताल हाम्रो रहर नभई बाध्यता थियो। 

मेरो छोराको हत्या गरिएपछि सरकारले कारवाही चलाउला र हाम्रो सत्य तथा न्यायको अधिकार सुनिश्चित गर्ला भन्ने आशाका साथ मेरा पति र मैले अनेकौं ठाउँमा पुकारा गर्‍यौं। नौ वर्षसम्म न्यायका लागि सबै कानूनी उपायहरू अपनाएको भए पनि हामीलाई न्यायबाट वञ्चित गरिएकाले मेरा पति र मैले आमरण अनशन शुरू गर्ने निर्णय लिएका थियौं। सरकारलाई दबाब दिने यो मात्र एक विकल्प बाँकी थियो। तर सत्याग्रहको ३३४औं दिनमा मेरा पतिले न्याय नपाइकन अन्तिम सास फेर्छन् र यस कठिन यात्रामा मलाई एक्लै छाडिदिन्छन् भन्ने मलाई लागेको थिएन। पतिको मृत्युपछि म छियाछिया भएँ तर आफूलाई सम्हाल्दै मैले छोरा र पतिका लागि न्यायको लडाइँ जारी राखेकी छु। 

 राज्य नै पीडकहरूलाई संरक्षण गर्न लागिपरेको अवस्थामा कसरी निष्पक्ष र स्वतन्त्र अनुसन्धान थाल्ने होला भनी म उपायहरू खोजिरहेकी छु। धेरै द्वन्द्वपीडितहरू यही प्रश्नको उत्तर खोजिरहेका छन्।

चितवन जिल्ला अदालतमा २०७० चैत १२ मा आरोपित व्यक्तिहरूका विरुद्ध अभियोगपत्र दायर गरिएपछि न्यायको आशा पलाएको थियो। तर प्रमाण संकलनमा समुचित प्रक्रिया तथा राजनीतिक इच्छाशक्तिको अभावका कारण आरोपितलाई कसूरदार साबित गर्न लगभग असम्भव रह्यो। मैले केही पनि गर्न सकिनँ। तर राज्य नै पीडकहरूलाई संरक्षण गर्न लागिपरेको अवस्थामा कसरी निष्पक्ष र स्वतन्त्र अनुसन्धान थाल्ने होला भनी म उपायहरू खोजिरहेकी छु। धेरै द्वन्द्वपीडितहरू यही प्रश्नको उत्तर खोजिरहेका छन्। पीडितलाई भन्दा पनि पीडकलाई संरक्षण गर्न राज्यले चासो देखाएको सन्दर्भमा पीडकलाई न्यायको दायरमा ल्याउनका लागि समुचित अनुसन्धान नगरिरहेको अवस्थामा न्यायको सम्भावना कत्तिको छ?

यत्तिका वर्षसम्म न्यायका लागि लडिरहेको अनि बदलामा सरकारी पक्षबाट झूटा आश्वासन तथा ढिलासुस्ती मात्र पाइरहेको अवस्थामा मैले आफूमाथिको यो अन्यायलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने निर्णय लिएकी छु। त्यसैले मैले मेरा कानूनव्यवसायीहरू तथा एड्भोकेसी फोरम नेपाललाई यस मुद्दाको अन्तर्राष्ट्रियकरण गर्न अनुरोध गरेकी छु। मेरा तर्फबाट संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिसमक्ष मेरो छोराको हत्या तथा मेरा पतिको मृत्युका घटनाका विषयमा निवेदन दिने कानूनव्यवसायी तथा एएफप्रति म आभारी छु। निवेदनमा मैले नेपाल सरकारलाई देहायका सिफारिश गर्नका लागि मानवअधिकार समितिलाई आग्रह गरेकी छु-

क. स्वतन्त्र अनुसन्धान टोलीमार्फत मेरो छोराको हत्याको घटनालाई पुनः अनुसन्धान गर्न,ख. विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न, ग. म र मेरो परिवारलाई पुनःस्थापना गर्न र घ. संक्रमणकालीन न्याय प्रक्रियालाई पारदर्शी रुपमा परिवर्तन गर्न। यस कदमले मेरो छोरा र पतिलाई न्याय दिलाउनका लागि थप सहज बनाउने आशा मैले लिएकी छु। 

छोरा र पति गुमाउनुपर्दाको पीडाले मेरो मुटु भरिएको छ र यो पीडा कहिले पनि हराउने वा कम हुने देखिँदैन। तर यस पीडासँगै ममा दह्रो अठोट पनि छ। आशाको सानो झिल्कोले मलाई न्यायप्राप्तिका लागि यी थप कदमहरू चाल्न प्रेरित गरेको छ। मेरा पतिको शव शिक्षण अस्पतालको शवगृहको बाकस नम्बर ४ मा अझै पनि छ र कुनै दिन म उहाँको अन्त्येष्टि गर्न सक्छु भन्ने आशा छ। हाम्रो छोराको हत्या गर्ने पीडकलाई अभियोजन गरेर सजाय दिएको देखेपछि पतिको अन्त्येष्टि गर्ने मेरो आशा हो। त्यो दिन छिट्टै आउनेछ भनी आशा गर्छु। 

यत्तिका वर्षसम्म मलाई साथ दिने सबैलाई म धन्यवाद दिन चाहन्छु। भविष्यमा पनि उहाँहरूबाट सहयोगका लागि अनुरोध गर्छु।

[पति नन्दप्रसाद अधिकारीले मृत्युवरण गरेको सातौं वार्षिक कार्यक्रममा गंगामायाले वीर अस्पतालबाट जारी गरेको अपिल]

प्रकाशित: Sep 22, 2021| 15:06 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।