काठमाडौं- मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ केकीघाङमा नेपालका लागि नयाँ प्रजातिको चरा फेला परेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को इलाका संरक्षण कार्यालय लोमन्थाङका कर्मचारी रामबहादुर गुरुङले ‘युरोपियन रोलर’ चरा प्रजातिको फोटो गत भदौ १३ मा खिचेका थिए।
लोमन्थाङको केकीघाङ समुद्री सतहदेखि ३ हजार ७ सय ८१ उचाइमा छ।
सो चराको जाँचपड्ताल पछि उक्त चरा नेपालका लागि नयाँ भएको चराविद्हरूले पुष्टि गरेका छन्।
‘नेपाली चराबारे अनुसन्धान गरेका चराविद् टिम इन्स्किप र क्यारोल इन्स्किपले पनि त्यो नामको चरा नेपालका लागि नयाँ भएको प्रमाणित भयो,’ इलाका संरक्षण कार्यालय लोमन्थाङका प्रमुख ऋषि बरालले बताए।
यो नयाँ प्रजातिको चरा थपिएसँगै एक्याप क्षेत्रमा पाइने चराको संख्या ५ सय १९ पुगेको छ।
गुरुङले उक्त चरा लोमन्थाङबाट ८ सय मिटर दक्षिण पूर्वको केकघाङको खेतको पर्खालमा पहिलो पटक दिउँसो १ बजेर ११ मिनेट जाँदा खिचेका थिए भने दोस्रो पटक पिपलको रुखमा बसेका बेला खिचेका थिए। स्वास्थ्यकर्मी समेत रहेका गुरुङ चराप्रेमी हुन्।