नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनबीच टेलिफोन वार्ता भएको छ। अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच भएको रक्षा सम्झौताको विषयमा फ्रान्सले आपत्ति जनाइरहेको छ।
यसबीचमा भारतीय प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपतिसँग टेलिफोन संवाद गरेका हुन्। दुबै नेताबीच हिन्द-प्रशान्त क्षेत्रमा मिलेर काम गर्ने विषयमा कुराकानी भएको छ।
भारतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार दुबै नेताले अफगानिस्तानको पछिल्लो अवस्था, आतंकवाद, महिला र अल्पसंख्यकहरुको अधिकारको विषयमा छलफल भएको छ।
प्रधानमन्त्री मोदीले यसबारे ट्विट गर्दै भनेका छन्, 'हाम्रो मित्र इम्यानुअल म्याक्रोनसँग अफगानिस्थाको स्थितिका बारेमा कुराकानी गरेका छौं। हामीले हिन्द-प्रशान्त क्षेत्रमा भारत र फ्रान्सको साझा प्रयासका विषयमा पनि छलफल गरेका छौं। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा समेत हामीलाई फ्रान्सको रणनीतिक साझेदारी निकै महत्वपूर्ण छ।'
फ्रान्सका राष्ट्रपति म्याक्रोनले पनि भारतको रणनीतिक स्वायत्तताका लागि फ्रान्सले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।