जर्मनीको बर्लिनमा लकडाउनको विरोधमा प्रदर्शन भएको छ। कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएको लकडाउनविरुद्ध हजारौं जर्मन सडकमा निस्किएका हुन्।
उक्त एन्टी–कोरोना मार्चमा करिब ३८ हजार मानिसले सहभागिता जनाएको बताइएको छ। प्रदर्शनमा सहभागी सयौंलाई प्रहरीले पक्राउ गरेको छ।
दक्षिणपन्थी समूहको नेतृत्वमा प्रदर्शन भएको र उनीहरुले ढुङ्गा तथा बोतलहरुबाट आक्रमण गरेको जर्मन अधिकारीहरुको दाबी छ। पक्राउ परेकाहरुले सुरक्षाका नियमहरुको पालना नगरेको र आफूहरुसँग पक्राउ गर्नुबाहेकको विकल्प नभएको प्रहरीले जनाएको छ। पक्राउअघि सात प्रहरी घाइते भएको बताइएको छ।
जर्मनीमा लकडाउन हटाइए पनि अन्य सुरक्षाका नियममा कडाइ गरिएको छ। त्यहाँ मास्क नलगाए ५९ डलर जरिवाना गर्ने नियमलाई गत बिहीबारदेखि लागू गरिएको छ। जनसहभागिताका ठूला कार्यक्रम गर्न अर्को वर्षसम्मलाई रोक लगाइएको छ।
जर्मनीमा अन्य युरोपेली देशको तुलनामा कोरोना भाइरस नियन्त्रित अवस्थामा छ। त्यहाँ अहिलेसम्म २ लाख ४२ हजार ८२५ जना संक्रमित छन्। तर, अधिकांश निको भइसकेका छन्।
अहिले उपचाररत संक्रमित १५ हजार ९७८ जना छन्। तीमध्ये २४५ जनाको अवस्था गम्भीर छ। संक्रमणबाट ९ हजार ३६३ जनाको मृत्यु भएको छ।