काठमाडौं– जापानी प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने भएका छन्।
आफ्नो खराब स्वास्थ्य अवस्थाका कारण उनले राजीनामा दिन लागेको त्यहाँको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना भाइरसको महामारीबाट बच्नका लागि गरिएका प्रयासलाई लिएर जापानमा प्रधानमन्त्री आबेको आलोचना भइरहेको छ। कोरोना महामारीका कारण जापानको अर्थ व्यवस्थाको अवस्था ऐतिहासिक रुपमा तल खस्किएको छ।
आबेले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन्। पत्रकार सम्मेलनमा उनले आफ्नो स्वास्थ्यबारे जानकारी दिने र राजीनामासमेत दिने बताइएको छ।
अस्पतालमा प्रधानमन्त्री आबेको एक साताबीच शरीरका विभिन्न भागको जाँच गरिएको छ। उपचारका लागि अस्पताल पुगेका सिन्जो आबेको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।
सिन्जो आबेले सोमबारमात्र जापानको इतिहासमा अहिलेसम्म लामो समय प्रधानमन्त्रीको कार्यभार सम्हालेको रेकर्ड तोडेका छन् ।