पिथोरागढ- नेपाल-भारत संयुक्त सैन्य अभ्यासको १५ औं संस्करण सुरु भएको छ। १५ दिनसम्म चल्ने सूर्य-किरण नाम दिइएको बटालियन-स्तरको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको भारतीय सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ।
हरेक दुई वर्षमा हुने उक्त सैन्य अभ्यास नेपाल र भारतमा हुने गरेको छ। भारत र नेपाली सेनाले सञ्चालन गरेका काउन्टर-इन्सर्जेन्सीको समयमा प्राप्त अनुभवलाई आदानप्रदान गर्ने उद्देश्यले उक्त सैन्य अभ्यास सुरु गरिएको जनाइएको छ।
सैन्य अभ्यासको उद्घाटन सत्रमा लेफ्टिनेन्ट जनरल एसएस महलले पारस्पारिक विश्वासलाई बढाउन र उत्कृष्ट अभ्यासहरुलाई आदानप्रदान गर्न यो अभ्यास फलदायी हुने बताएका छन्।
उक्त अभ्यासमा भारततर्फबाट छैटौं गडवाल रेजिमेन्टले प्रतिनिधित्व गरेको छ भने नेपालको तर्फबाट रिपु दामन बटालियनले प्रतिनिधित्व गरेको छ। दुबैतर्फबाट ६५० जनाको सहभागिता रहेको जनाइएको छ।
आतंकवादविरुद्धको अप्रेसन र उद्धार कार्यमा सेनाहरुले खेल्ने भूमिकाबारेमा अभ्यास गरिएको छ।