एजेन्सी- चीनले गत जुलाई महिनादेखि नै स्वास्थ्यकर्मीहरुलाई कोरोनाविरुद्धको खोप दिइरहेको खुलेको छ।
विश्वभर कोरोनाविरुद्धको कुनै पनि खोपले आधिकारिकता नपाइरहेका बेला चीनले खोप उत्पादन गरेर स्वास्थ्यकर्मी तथा सीमा क्षेत्रका सुरक्षाकर्मीलाई खोप दिइरहेको पाइएको हो।
बीबीसीका अनुसार चीनका एक वरिष्ठ स्वास्थ्यकर्मीले चीनले केही महत्वपूर्ण क्षेत्रका व्यक्तिलाई खोप दिइरहेको बताएका छन्। यद्यपि उक्त खोपलाई चीन सरकारले नै अनुमति दिइसकेको छैन।
त्यहाँको राष्ट्रिय स्वास्थ्य विज्ञान आयोगका एक उच्च अधिकारी चेङ चोंगेईले सरकारी संचारमाध्यम सीसीटीभीसँगको कुराकानीमा सरकारले कोभिड–१९ को खोप स्वास्थ्यकर्मी र सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीलाई ‘आपतकालीन प्रयोग’ का रुपमा लगाउने अनुमति दिएको बताएका छन्।
चेङले भ्याक्सीन उत्पादन गर्ने कार्यदलको नेतृत्व गरिरहेका छन्। उनका अनुसार चीनमा सात दिनयता कुनै पनि नयाँ स्थानीय संक्रमण देखिएको छैन। चीनमा क्लिनिकल ट्रायल नगरी खोपको प्रयोग गरिएको यो पहिलो घटना हो जुन सरकारी रुपमा पुष्टि भएको छ।
चीनले उत्पादन गरेर आपतकालीन रुपमा प्रयोग गरेको खोप कुन हो भन्ने खुलाइएको छेन। साथै हालसम्म कतिलाई दिइएको छ र यसको प्रभाव के छ भन्नेबारे पनि केही खुलेको छैन।
चेङले पूर्णरुपमा कानुनको पालना गरी स्वास्थ्य संकटलाई मध्यनजर गरेर यो खोप उपयोगको अनुमति दिएको बताएका छन्।
चेङले सीसीटीभीसँगको कुराकानीमा भनेका छन्, ‘हामीले पुरै योजनाको श्रृंखला तयार गरेका छौँ, जसमा मेडिकल सहमति पत्र, साइड इफेक्ट अनुगमन योजना, उपचारको योजना र मुआब्जाको योजना यसमा समावेश छ। यो आपतकालीन प्रयोग पूर्ण रुपमा व्यवस्थित र निगरानीको दायरमा छ।’
उनले शरद ऋतु र चिसो याम सुरु हुनुअघि अर्को समूहमा यो खोप प्रयोग गर्ने तयारी रहेको समेत बताएका छन्।
विश्व स्वास्थ्य संगठनले संसारभर १७० सम्भावित खोपमा काम भइरहेको बताएको छ।
चीनमा कयौँ खोप तेस्रो चरणको परीक्षणको क्रममा पुगिसकेका छन्। तेस्रो चरणमा हजारौँ मानिसलाई खोप दिएर यो सुरक्षित र प्रभावकारी कति छ भन्ने एकिन गरिन्छ।
चीनको सरकारी कम्पनी चाइना नेसनल बायोटेक समूहले उत्पादन गरेको खोप मानिसमाथि परीक्षण गर्न संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को र अर्जेन्टिनामा अनुमति प्राप्त भइसकेको छ।
त्यस्तै चीनकै अरु कम्पनी सिनोभ्याक र क्यानसिनो बायोलोजिक्सले पनि रसिया, इन्डोनेसिया र ब्राजिलमा खोप परीक्षण गरिरहेका छन्। बीबीसी