एजेन्सी- भारतको नयाँ दिल्लीमा यसअघि नै ६० लाख मानिसलाई कोरोना संक्रमण भइसकेको एक अध्ययनले देखाएको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्वेक्षण (सिरो) अनुसार दिल्लीको कु ल जनसंख्याको २९ प्रतिशत मानिस कोरोना संक्रमण पुष्टि भएर पनि निको भइसकेका छन्।
दिल्लीमा गरिएको दोस्रो चरणको सिरो सर्वेक्षणअनुसार त्यहाँ पुरुषको तुलनामा धेरै महिला संक्रमित भएका छन्। संक्रमित भएकाहरु ठिक भएर उनीहरुको शरीरमा एन्टीबडी विकास भैसकेको छ।
यो सर्वेक्षणमा १५ हजार भन्दा बढी मानिसको ब्लड स्याम्पल जम्मा पारिएको थियो।
गत जुलाई महिनामा दिल्लीमा गरिएको पहिलो सिरो सर्वेक्षणमा २३.४८ प्रतिशत मानिसमा एन्टीबडी विकास भएको थियो। दिल्लीमा अहिलेसम्म डेढ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४ हजार २५७ संक्रमितको मृत्यु भइसकेको छ।
दोस्रो सर्वेक्षण यसै अगस्ट महिनामा गरिएको थियो। यो सर्वेक्षणमा ३२.२ प्रतिशत महिलाको एन्टीबडी विकसित भएको पाइएको छ। पुरुषको संख्या झण्डै २८ प्रतिशत छ।
समग्रमा त्यहाँ २९ प्रतिशत मानिसमा एन्टिीबडी विकास भइसकेको पाइएको छ। यो त्यहाँको दुई करोड जनसंख्याको लगभग ६० लाख हुन आउँछ।
यो रिपोर्टअनुसार दिल्लीमा ६० लाख मानिसमा कोरोना संक्रमण भएर निको भइसकेको छ।
दिल्लकिा स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले दिल्लीमा ‘हर्ड इम्युनिटी’ विकसित गर्न कठिनरहेको बताएका छन्।
हर्ड इम्युनिटी भनेको एकै ठाउँमा रहेका अधिकांश मानिसमा प्रतिरोधात्मक क्षमता हुनु हो। यस्तो भयो भने भाइरसको फैलावट रोकिन्छ। तर दिल्लीमा त्यो सम्भव नभएको मन्त्री जैनले बताए।
मुम्बई र पुणेमा गरिएको यसै प्रकारको सर्वेक्षणमा ४० प्रतिशत भन्दा बढीमा एन्टीबडी विकसित भएको पाइएको छ। पुणेमा यो संख्या ५० प्रतिशत नजिक छ।