सुर्खेत- जाजरकोटको पधेँरीखोला सामुदायिक संस्थामा पदाधिकारीबीच विवाद हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुशे गाउँपालिका-८ जिन्तालाका ३५ वर्षीय इन्द्रबहादुर सिंह छन्।
उनी पधेँरीखोला सामुदायिक संस्थाका सचिव हुन्। संस्थाका अध्यक्ष विमलप्रकाश सिंहको कुटाइबाट उनको मृत्यु भएको हो। संस्थाको खातामा रहेको गरिबी निवारण कोषको रकमका विषयमा अध्यक्ष-सचिवबीच शुक्रबार साँझ विवाद भएको थियो।
विवादकै क्रममा अध्यक्षले सचिवको टाउकोमा हिर्काएपछि उनी गम्भीर घाइते भएका थिए। समयमै उपचार हुन नपाउँदा उनको शनिबार बिहान मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सचिवको हत्या गरेको आरोपमा संस्थाका अध्यक्ष सिंहलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए। उनलाई प्रहरीले घटना भएको १२ घण्टापछि भेरी नगरपालिका-२ बाहुनथानाबाट पक्राउ गरेको हो।
गरिबी निवारण कोषको रकमकै विषयमा छलफल गर्न शुक्रबार सामुदायिक संस्थाकाका पदाधिकारी र सदस्यहरु भेला भएका थिए। छलफलपछि अन्य सदस्यहरु घर फर्केका थिए। तर सचिव र अध्यक्षसहित केही युवाहरु कुुशे गाउँपालिका-८ को जिन्तालामा खाजा खान भन्दै रातिसम्म बसेका थिए। जिन्तालामा खाज खाँदै गर्दा सचिव र अध्यक्षबीच गरिबी निवारण कोषको रकमको विषयमा विवाद भएको थियो।
अध्यक्षले एक्कासी लाठ्ठीले टाउकोमा हिर्काउँदा सचिव गम्भीर घाइते भएका थिए। घाइतेको उपचार गर्नुको सट्टा युवाहरुले उनलाई घर पुर्याएका थिए। उपचारको अभावमा उनको राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। सचिवको हत्या गरेको आरोपमा पक्राउ परेका अध्यक्ष सिंहको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ।