लन्डन- कोरोना महामारीको तेस्रो लहर फैलिने भन्दै विज्ञहरुले चेतावनी दिइरहेको समयमा नेपाल बेलायतको रातो सूचीमा परेको छ। बेलायतले १७ सेप्टेम्बरमा जारी गरेको यात्रा निर्देशिका अनुसार कोरोना महामारीको जोखिम रहेका मुलुकहरुलाई विभिन्न तीन तहमा विभाजन गरेको छ।
बेलायतको मापदण्ड अनुसार रेड, एम्बर र ग्रिन गरि विश्वका मुलुकहरुलाई तीन सूचीमा वर्गीकरण गरेको छ। जसमा नेपाल रातो सूचीमा परेको छ। नेपालसँगै अफगानिस्तान, बंगलादेश, ब्राजिल, म्यानमार, नामेबिया, मंगोलिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सुडान, थाइल्यान्ड, टर्कीलगायतका ६२ मुलुकहरु रेड लिस्टमा परेका छन्।
रातो सूचीमा परेका मुलुकका नागरिकहरुले बेलायत भ्रमण गर्न पाउने छैनन्। रातो सूचीमा रहेका मुलुकबाट यात्रा गर्ने व्यक्ति १० दिनअघिसम्म सो मुलुकमा रहेको छ र त्यो व्यक्ति बेलायत अथवा आइरिस भएको तथा बेलायतमा बसोबासको अधिकार प्राप्त गरेको अवस्थामा मात्र बेलायत प्रवेश पाउने भएको हो।
यसरी बेलायत प्रवेश गर्ने बेलायती अथवा आइरिस व्यक्तिले पनि तीन दिनअघि कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने छ। त्यसैगरि क्वारेन्टाइनको होटल प्याकेज र दुई पटकको कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने छ।
भारतलाई भने एम्बर लिस्ट अर्थात कोरोनाको कम जोखिम भएको मुलुकको सूचीमा राखिएको छ।