काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा महानिर्देशक पद रिक्त हुने भएपछि सो पदमा नियुक्तिका लागि दौडधुप सुरु भएको छ। महानिर्देशकको दौडमा राष्ट्रिय गौरवअन्तर्गतका आयोजना प्रमुख प्रदीप अधिकारी, विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारी, प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री र उपमहानिर्देशक भोला गुरागाइँ ‘लबिङ’मा छन्।
‘महानिर्देशक राजन पोखरेल यही असोज ८ गतेबाट अवकाशमा जाँदै छन्, स्वभाविक रुपमा योग्यता पुगेकाहरु दौडधुपमा छन्’ क्यान स्रोतले भन्यो, ‘दौडमा रहेकाहरुको कार्य क्षमता भने उस्तै छैन। यसअघि आफूलाई प्रमाणित गरिसकेका व्यक्तिलाई हाकिम बनाइयो भने प्राधिकरणले फड्को मार्न सक्छ।’
२०७६ असार १३ गते महानिर्देशक नियुक्ति भएका पोखरेलले १२ औं तहको ६ वर्ष अवधि पूरा गर्दै पदबाट अवकाश हुन लागेका हुन्। महानिर्देशको कार्यकाल ४ वर्षको भए पनि प्राधिकरणको १२ औं तहमा बढुवा भएपछि ६ वर्षसम्म पदममा रहन पाउने व्यवस्था छ।
सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन प्रक्रियाको फेरोमा फसेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई यस्तो बेला जुझारु र निर्णयका लागि काविल नेतृत्व खाँचो पर्ने भनाइ सरोकारवाला र कर्मचारीहरुको छ। निर्माणाधिन परियोजनाहरुलाई टुंगोमा पुर्याउने जिम्मेवारीसँगै कतिपय नयाँ परियोजनालाई अगाडि बढाउन सक्ने व्यक्तिलाई महानिर्देशक बनाउँदा मात्र प्राधिकरणको साख जोगिने भनाइ कर्मचारीहरुको छ।
‘लबिङमा लागेका नामहरुमध्ये कतिपय यसअघि विवादित पनि छन् र कतिपयको कार्यक्षमतामाथि प्रश्न उठ्ने गरेको छ’, प्राधिकरणका एक सिनियर इन्जिनियरले भने, ‘कतिपयको त अवकाशको समय पनि भइसकेको छ।’
दौडधुपमा लागेकामध्ये प्रवक्ता राजकुमार क्षेत्री पुस २५ गते स्वतः अवकाश हुनेछन् भने भोला गुरागाइँ फागुन २७ गते अवकाश हुँदैछन्।
अहिलेका महानिर्देशक पोखरेलले क्षेत्री विवादित भएपछि प्राधिकरणको हेड अफिसमा ल्याएका थिए। अघिल्लो सरकारका बेला राजनीतिक साँठगाँठमा सिपालु कहलिएका प्रतापबाबु तिवारी पनि कतिपय सन्दर्भमा विवादित भइसकेका छन्।
तर उनले यसपटक आफू महानिर्देशक पदमा गएर काम गर्न सजिलो नहुने भन्दै यो पदप्रति त्यत्ति इच्छुक नदिएको प्रतिक्रिया आफू निकटहरुसँग दिइरहेका छन्। ‘तिवारी सरले त्यति उत्साह प्रकट गरेको देखिएको छैन, यसको खास कारण उहाँलाई नै थाहा होला’, ती इन्जिनियरले भने, ‘यसअघि पोखरा अन्तराष्ट्रिय विमानस्थ जस्ता ठूला परियोजनामा भएका कामको ट्रयाक रेकर्ड हेरेर महानिर्देशकको जिम्मेवारी दिइयो भने सरकार प्राधिकरणको नेतृत्व चयनमा बायस भएको ठानिने छैन।’