काठमाडौं- अमेरिका पठाइदिने प्रलोभन देखाएर बंगलादेशको शरणार्थी क्याम्पमा रहेका रोहिंग्यालाई नेपाल ल्याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
म्यानमारमा भएको नरसंहारपछि भागेर बंगलादेश पुगेका शरणार्थीहरुलाई नेपाल ल्याउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई म्यानमार र एक बंगलादेशका नागरिकलाई पक्राउ परेको जनाइएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा म्यानमारका नागरिक नोरुल अमिन, शोफिक आलम र बंगलादेशी नागरिक अजमत उल्ला छन्। उनीहरु केही समयदेखि काठमाडौं बस्दै आएको खुलेको छ।
केही दिनअघि प्रहरीले अवैधरुपमा नेपाल आएर बौद्ध पुगेका १४ रोहिंग्यालाई बौद्धबाट पक्राउ गरेर अध्यागमनलाई बुझाएको थियो। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि नेपालमा शरणार्थीहरु बढ्नसक्ने चिन्ताका बीच रोहिंग्याहरु नेपालमा भेटिएका हुन्।