काठमाडौं- सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत 'म नेपाल हो'को म्युजिक भिडियो सार्वजनिक भएको छ। अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको हो।
गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्रकुमार खनाल, देवकुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्रकारलगायतको उपस्थिति रहेको थियो।
निशान कस्यपको निर्देशन रहेको गीतमा सहकलाकारको रूपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन्। अजय अधिकारीको शब्द रचना रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका हुन्। बादल थापा मगरको स्वर रहेको गीतलाई उत्तम हुमागाईले छायांकन गरेका हुन्। अमितेश कर्णको ड्रेस डिजाइन रहेको गीतमा सुरेन्द्र ठकुरीको मेकअप रहेको छ।
निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन्। असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गीतको मेकिङ्ग उच्च देखिन्छ। सार्वजनिक गीतमा अभिनेता अधिकारीले २० भन्दा बढि क्यारेक्टरमा अभिनय गरेका छन्। गीतको भिडियो हेरेपछि उपस्थित पाहुनाले अधिकारीको अभिनयको प्रशंसा गरेका थिए।