इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच सम्बन्ध सामान्य बनाउने सहमति भएको छ, यसको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्।
बीबीसीका अनुसार राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र अबु धाबीका क्राउन प्रिन्स मोहम्मद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै आशा व्यक्त गरेका छन्, “यो ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्नेछ।”
राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि यसको परिणामस्वरुप इजरायलले वेस्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गर्नेछ।
अहिलेसम्म इजरायलको खाडीको अरब देशसँग राजनीतिक सम्बन्ध थिएन। यद्यपि, यस क्षेत्रमा इरानबारे इजरायल तथा अरब देशको चिन्ता समान छ, जसका कारण दुवै पक्षबीच अनौपचारिक सम्पर्क हुने गरेको छ।
राष्ट्रपति ट्रम्पको घोषणाको जवाफमा इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले हिब्रू भाषामा ट्विट गर्दै लेखेका छन्, “ऐतिहासिक दिन।”
अमेरिकामा रहेका युएईका राजदूत युसुफ अल ओतैबाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो कूटनीति तथा क्षेत्रका लागि एक जित हो।”
साथै उनले भनेका छन्, “यो अरब इजरायल सम्बन्धको एक महत्त्वपूर्ण उपलब्धि हो, जो तनाव कम गर्नेछ साथै सकारात्मक बदलावका लागि नयाँ ऊर्जाको निर्माण गर्नेछ।”
सन् १९४८ मा इजरायल स्वतन्त्र घोषणा भएपछि यो तेस्रो इजरायल अरब शान्ति सम्झौता हो। यसअघि मिस्रले सन् १९७९ तथा जोर्डनले सन् १९९४ मा एक सम्झौतामा हस्ताक्षर गरेका थिए।
आगामी हप्ता इजरायल तथा युएईको प्रतिनिधिमन्डलबीच भेट हुनेछ। साथै लगानी, पर्यटन, सिधा उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण तथा पारस्परिक दूतावास स्थापनाबारे द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछ।
संयुक्त विज्ञप्तिका अनुसार, दुवै देश “मध्य पूर्वका लागि रणनीतिक एजेन्डा” लागू गर्न अमेरिकासँग जोडिनेछन्।
नेताले भनेका छन् कि क्षेत्रमा खतरा तथा अवसरमाबारे उनीहरुको दृष्टिकोण समान छ। साथै उनीहरुले कूटनीतिक संलग्नता, आर्थिक एकीकरण तथा सुरक्षाको माध्यमबाट स्थिरता बढाउन साझा प्रतिवद्धता जनाएका छन्।