काडमाडौं– फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट खेल्न गत साउन १६ गते काठमाडौं आएर क्वारेन्टिनमा बसिरहेका खेलाडी घर फर्किन थालेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज बिहानबाट खेलाडी र अफिसियललाई घर पठाउन थालेको हो।
एन्फाले सूचना जारी गर्दै भनेको छ, ‘राष्ट्रिय फुटबल टोलीका सबै खेलाडी, टिम अफिसियल र स्टाफलाई क्वारेन्टिनबाट छुटाइएको छ। साथै १७ अगस्टबाट हुने भनिएको प्रशिक्षण पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ।’
एसियाली फुटबल महासंघ (एएफसी)ले बुधबार दोस्रोपटक क्वालिफायरका खेल स्थगित भएको सूचना जारी गरेपछि अभ्यासका लागि कोरोना टेस्ट गरेर रिपोर्ट नेगेटिभ आइसकेका खेलाडी घर फर्किएका हुन्। पहिलो पटक गत चैतमा आयोजना हुने क्वालिफायरका खेल कोरोना महामारीका कारण असोज र कात्तिकमा सारिएको थियो।
तर महामारी कम नभएका कारण सबै देशमा प्रतियोगिता गराउन सकिने स्थिति नभएको भन्दै एएफसी र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतियोगिता स्थगित गरेको थियो। यसपछि एन्फाले आज बिहान पूर्वका खेलाडीलाई घरतर्फ पठाएको छ।