वुटवल- नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेसलाई अंकुश लगाउने कुनै पनि कानुन स्वीकार्य नहुने बताएका छन्।
संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई संकुच गरेर कानुन निर्माण गरेको भन्दै उनले आपत्ति जनाए। नेपाल पत्रकार महासंघको आयोजना तथा रुपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका सुरु भएको एक हप्ते आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेले प्रेसमैत्री कानुन बनाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराए।
'लुम्बिनी प्रदेश सरकारले बनाएको कानुन प्रेसविरोधी छ। त्यसलाई फिर्ता गर्न माग गरेका छौं,' अध्यक्ष पोखरेलले भने, 'सरकारले नसच्याए महासंघले स्वीकार गर्दैन।'
उनले लुम्बिनीसहित केही प्रदेशले बनाएका मिडिया सम्बद्ध कानुन प्रेसविरोधी भएकाले त्यसविरूद्ध पत्रकारहरू बोल्नुपर्ने बताए। अध्यक्ष पोखरेलले पत्रकारिताप्रति थुप्रै प्रश्न उब्जेकाले त्यसलाई चिर्नुपर्ने बताए । पत्रकारिता तालिमले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयार पार्ने उनको विश्वास छ।
पत्रकारले समाजको अपेक्षा बुझेर जिम्मेवारी निर्वाह गर्नु पर्ने भन्दै पत्रकारलाई पत्रकार आचारसंहिता पालना गर्न आग्रह गरे।
नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गोविन्द आचार्यले क्षमता विकास गर्नसके पत्रकारीतामा प्रशस्त अवसर रहेको बताए । उनले पत्रकार महासंघ पत्रकारहरूको क्षमता अभिवृद्धि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेको बताए।