काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीको प्रतिनिधित्व हुने नेपाल ओलम्पियन खेलाडी संघलाई प्रभावकारी बनाउने प्रयास थालेको छ।
उसले एक सूचना जारी गर्दै ओलम्पियन खेलाडीलाई निर्वाचनमार्फत सक्रिय गर्न लागेको जानकारी दिँदै संघलाई प्रभावकारी बनाउने प्रयास थालेको हो।
साथै संघको पुनःनिर्माणका लागि एनओसीले ओलम्पियन खेलाडीहरुलाई आगामी भदौ ५ गतेभित्र आफ्नो विवरणसहित ओलम्पिक कमिटीमा दर्ता गर्न वा इमेलमार्फत दर्ता÷जानकारी दिन आनुरोध गरेको छ।
नेपालमा पहिलो पटक २०६४ वैशाखमा सुनिललाल जोशीको अध्यक्षतामा ओलम्पियन संघ गठन गरिएको थियो। जोशीको तीन वर्षअघि नै निधन भएपछि संघ कार्यवाहक अध्यक्षका भरमा चलिरहेको भए पनि सक्रिय हुन सकेको छैन। संघको प्रवीण तुलाधर कार्यवाहक अध्यक्ष छन्।
एनओसीमा आवद्ध २७ संघबाट एक महिला र एक पुरुष गरि दुई जनाको नाम एनओसीले मागेको छ। ओलम्पियन खेलाडी संघबाट छानिएका प्रतिनिधिले एनओसीमा भोट हाल्ने अधिकारसमेत पाउने छन्।
एनओसीको कार्यालयमा तीन दिन बिदा
एनओसीले कोरोनाको महामारी व्यापकरुपमा फैलिरहेको भन्दै सातदोबाटोस्थित कार्यालयमा तीन दिन बिदा दिने भएको छ। उसले कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गर्दै कार्यालय बन्द हुने बताएको हो।
कार्यालय अगस्ट १४ सम्म बन्द रहनेछ।