मुम्बई– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले आउँदो इन्डियन प्रिमियर लिग(आईपीएल)को टाइटल स्पोन्सरका लागि कम्पनीहरुलाई आह्वान गरेको छ।
आईपीएलटीट्वान्टी डट कमका अनुसार बीसीसीआईले अगस्त १४ सम्मको समयसीमा तोक्दै टाइटल स्पोन्सरको लागि आह्वान गरेको हो।
बीसीसीआईले एक सूचना जारी गर्दै अगस्त १८ मा नयाँ स्पोन्सरको घोषणा हुने पनि बताएको छ। बोर्डले भनेको छ, “नयाँ स्पोन्सर १८ अगस्तमा घोषणा हुनेछ। साथै सोही दिनबाट २०२० डिसेम्बर ३१ सम्म सम्झौता मान्य रहनेछ।”
युएईमा सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म आयोजना हुने आईपीइएलका लागि चिनियाँ कम्पनी भिभोले २०२२ सम्मको सम्झौता रद्द गरेपछि बीसीसीआईले नयाँ स्पोन्सरको खोजी गर्न थालेको हो।
१३ औं संस्करणको आईपीएलको स्पोन्सरका लागि रामदेवको कम्पनी पतन्जलीले पनि चासो देखाएको छ।
पतन्जलीका प्रवक्ता एसके तिजारावालाले आईपीएलको स्पोन्सरसिपबारे सोचिरहेको बताए। पतन्जलीले स्पोन्सर पाए लोकल ब्रान्डलाई ग्लोबल बनाउने सोच रहेको पनि बताएका छन्।
टाइटल स्पोन्सरबाट बीसीसीआईले हरेक वर्ष ४४० करोड भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको छ। यता पतन्जलीको वार्षिक टर्नओभर १० हजार ५०० करोड भारतीय रुपैयाँ छ भने गत वर्षको रेभेन्यु आठ हजार ३२९ करोड भारतीय रुपैयाँ थियो।
पतन्जलीका साथै अमेजन, ड्रिम–११, बायजुलगायत कम्पनीले स्पोन्सरसिपका लागि बोली लगाउने भएका छन्। तीमध्ये जसले सबैभन्दा धेरै बोली लगाउनेछ, उसले नै आईपीएलको स्पोन्सरसिप पाउनेछ।