हो, म प्रधानमन्त्री थिएँ भने कोरोनाको कहरले सताइरहेको मेरो देश र विश्वसमुदायलाई केही अवश्य गर्थें।
कोभिडको उपचारमा पीपीईभित्र १८ घण्टा गुम्सिएर त्रासद पीडासाथ उपचारकार्यमा खटिरहेका स्वास्थ्यकर्मीलाई कम्तीमा उत्प्रेरणा भत्ता त समयमै उपलब्ध उराउने प्रबन्ध गर्थें।
स्वास्थ्य क्षेत्रका विज्ञ र कर्मठ स्वास्थ्यकर्मीलाई नै यो महामारीको सम्बोधन गर्ने राष्ट्रिय रणनीति र योजना बनाउन लगाउन स्वास्थ्यमन्त्रीलाई अह्राउँथें र आफैं विज्ञ भएझैं गरी अर्तिउपदेशमा लाग्दिन थिएँ।
राष्ट्रिय सङ्कटमै धकेल्दो यो चुनौतिभित्र थुप्रै सम्भावना छन् भनेर खोज्न मन्त्रीहरूलाई कार्ययोजना बनाउन लगाउँथें।
सूचनाप्रविधिका प्राधिकार र सेवाप्रदायकलाई बोलाएर देशभर शीघ्र प्रभावकारी इन्टरनेट सेवा लाने कार्यक्रम प्रस्तुत गर्न म्यादै तोकेर लगाउँथें।
सबै सरकारी कार्यालय र राज्यका निकायको कार्यसम्पादनमा डिजिटल प्रणालीलाई पहिलो र त्यसपछि मात्र कागजी कारबाईको पद्धति अपनाउने व्यवस्था मिलाउन कार्यकारी प्रमुखकै हैसियतमा आदेश दिन्थें।
योजना आयोगको अध्यक्षका हैसियतले योजना आयोगलाई पन्ध्रौँ योजना नै परिमार्जन गर्न लगाउँथें। नागरिकले घरैमा बसेर बैङ्किङ सेवा प्रयोग गर्न सकेजस्तै मालपोत, कर, पालिका कार्यालयका सेवासम्बन्धी भर्चुअल्ली पाउन सक्ने बन्दोबस्त मिलाउने गरी योजनाको पुनर्ढाँचा गराउँथें।
जस्तो भनौँ, नागरिकता लिनुपर्ने उमेर पुगेको मानिसले पालिकाबाट लिनुपर्ने सिफारिस अनलाइनबाटै पाउने जिल्ला प्रशासन कार्यालयमा अनलाइनबाटै आवेदन गर्ने अनि नागरिकता प्रमाणपत्र घरदैलोमा पठाउनुअगाडि त्यसको डिजिटल संस्करण उपलब्ध गराएर नागरिकता पाउनेलाई दङ्ग र फुरुङ्ग हुने अवस्था बनाउन गृह प्रशासनलाई सक्षम बनाउँथेँ।
भौतिक योजनामन्त्रीलाई बोलाएर कोभिडजस्ता महामारीमा अन्तरवैयक्तिक दूरी कायम गरेर कार्यसम्पादन गर्न पनि मिल्ने र सामान्य अवस्थामा पनि फराकिलो गरी काम गर्न मिल्ने निर्माणसम्बन्धी कार्ययोजना माग्थें।
शिक्षामन्त्रीलाई बोलाएर शिक्षालाई भर्चुअल र एक्चुअल संयोजित कार्यक्रमसहितको शैक्षिक सत्र कहिले सुरु हुने र कहिले टुङ्गिने भनेर प्रश्न गर्थेँ।
कृषिमन्त्रीलाई बोलाएर कृषिकान्तिको कार्यक्रम माग्थेँ। यो अब कति वर्षमा गार्हस्थ कृषिउपजले आन्तरिक आपूर्ति धानेर कहिलेदेखि उपज चीनसँग कति भारतसँग कति निर्यात हुन थाल्छ सोध्थें।
कृषिमन्त्रीसँग सहरका पिसाब सङ्कलन गरी बनेको युरिया मल देशका कुनकुन भागमा उपलब्ध भैरहेछ फेहरिस्त माग्थें।
वनमन्त्रीलाई बोलाएर जलजङ्गल र जमिनमाथि रैथानेको स्वामित्व कहिले स्थापित हुन्छ र आरक्षणमा जथाभावी गरे सुरक्षाकर्मीकै ढाड चेपाङले भाँच्न पाउन थाल्छन् भनेर सोध्थेँ।
बिजुलीबाट चल्ने गाडी किन्नेलाई दिनका लागि आगामी पाँच वर्षका लागि कति अनुदान दिने योजना छ मलाई जानकारी दिनोस् भनेर अर्थमन्त्रीलाई र्र्याखर्र्याख पार्थेँ।
विज्ञान र प्रविधिमन्त्रीलाई बोलाएर म नेपालको भूगोल सुहाउँदा बिजुली हलो, बिजुली कोदालो, बिजुली कुटो कति बने कति आपूर्ति भो भनेर सोध्थेँ।
यता अदालतमा वकिलले घरैबाट अनलाइन इजलासमा बहस गर्न सक्ने प्रबन्ध गर्न कानुनमन्त्रीलाई सबै कानुनी र व्यवस्थापकीय काम लगाउँथें।
कारागारमा रहेको अपार जनशक्तिलाई सजाय भुक्तानीसँगै राष्ट्रनिर्माणमा कहाँ र कसरी सरिक गराउने र राज्यले अपराधीबाट जनहितकारी काम गराएर पनि सजाय असुल्दो रहेछ त्यस्तो राम्रो काम गरेछ अब म पनि उसलाई बाँकी सजाय माफ होस् भन्ने बन्ने अवस्था सिर्जना गर्न लगाउँथें।
कुलमान घिसिङजस्ता अरू नेपाली छँदै छैनन् ररु मेरो मनमा यस्ता प्रश्न उपस्थित हुन्थे। र म भजनमण्डलीबाट फुत्तै बाहिर निस्केर केही त्यस्ता मान्छे खोज्थें जसले साँच्चै देशलाई योगदान गर्न सक्छन्। कुलमान घिसिङ, महावीर पुन, कृष्ण पोखरेल (विराटनगर), युवराज सङ्ग्रौलालाई सल्लाह र सुझाव दिन बोलाउँथें।
पार्टीको बैठक आफैँ डाक्थेँ। पार्टीलाई मुलुकको २५ वर्षका कामको फेहरिस्त दिँदै पार्टीको नीति र कार्यनीति बनाउन उत्साहित गर्थें।
राज्यका निकायलाई ज्येष्ठ नागरिकको आरक्षण केन्द्रबाट मुक्त गर्दै राज्यका विभिन्न निकायमा २५ वर्षमाथिका योग्य मानिसको ऊर्जाको सदुपयोगको वातावरण बनाउन संविधान संशोधनकै प्रस्ताव पनि ल्याउँथें।
हो, म बडो हास्य मुद्रामा प्रस्तुत हुन्थें। रमरम व्यङ्ग्य मिसाउँथें। च्वास्सै बिझाउने गरी छिमेकीलाई त के घरैका कसैलाई पनि भन्दिनथें। म पनि बेलाबेला गीत गाउँथें, बेलाबेला मादल बजाउँथें।
०००
इलाममा कक्षा सातआठ कक्षामा शशि गुरुमाले अङ्ग्रेजीको व्याकरण पढाउँदा आई (म) को वर्तमानमा 'एम' र भूतमा 'वज' लाग्छु भनेर पढाउनुभएको थियो।
नौदस कक्षामा पुगेपछि पूर्णसरले एउटा एस्से (निबन्ध) लेख भन्नुभयो र शीर्षक दिनुभयो, 'इफ आई वेर ए प्राइम मिनिस्टर'। अङ्ग्रेजीमा भन्नुपर्दा 'वज' हैन 'वेर' लेख्न पर्छ भनेर सिकाइजति त ताजै छ।
निबन्धचाहिँ लेखिएन। खासमा अङ्ग्रेजीमा लेख्ने मेरो त्यतिखेर सामर्थ्यै थिएन उहाँहरूलाई उहाँहरूकै जीवनकालमा यस्तो लेख नेपालीमै लेखेर मैले गुरुभेटी चढाउन सक्नुपर्थ्यो, सकिनँ। गुरुमा र गुरु दुवै रहनुभएन। हो, म प्रधानमन्त्री थिएँ भने माथिका कुराको अतिरिक्त यस्तै एउटा निबन्ध अङ्ग्रेजी भाषामै पनि लेख्ने थिएँ।