एजेन्सी- कोरोनाको तीव्र चपेटामा परेको भारतका ३५ लाख भन्दा बढी स्वास्थ्यकर्मी हड्तालमा उत्रिएका छन्।
राम्रो पारिश्रमिक, बिमा, पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीप्मेन्ट) लगायतको माग गरी स्वास्थ्यकर्मीहरु दुई दिनदेखि हड्तालमा उत्रिएका हुन्।
हड्तालको नेतृत्वको गरिरहेका सेन्टर फर ट्रेड युनियनका सचिव एआर सिन्धुले कोरोनविरुद्धको लडाईँमा देशमा १०० भन्दा बढी स्वास्थ्यकर्मीहरुको मृत्यु भइसकेको भन्दै यो आफ्नो सुरक्षाका लागि गरिएको हड्ताल भएको बताएका छन्।
भारतमा रहेका एक्रिडिटेड सोसल हेल्थ एक्टिभिस्ट अर्थात् आशाकर्मीहरु सामान्य रुपमा आर्थिक हिसाबले कमजोर रहेका व्यक्तिहरुसम्म पुग्ने सरकारी मान्यता प्राप्त प्रतिनिधिहरु हुन्। सरकारले उनीहरुलाई ग्रामिण क्षेत्रका घरघरमा पुगेर कोरोना बिरामीहरुको खोजी गर्ने काममा परिचालन गरेको छ।
सरकारी स्वास्थ्य सेवा राम्रोसँग नुपगेको ठाउँमा यस्ता स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहने गरेको छ।
यो हड्तालमा विभिन्न १० कर्मचारी युनियन सहभागी छन्। जसमा एम्बुलेन्स चालकसमेत छन्।