विराटनगर- प्रदेश १ मा बालबालिका तथा महिलामाथि हुने यौनजन्य घटनामा वृद्धि भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा वृद्धि भएको पाइएको हो ।
मानव अधिकारको अवस्था सार्वजनिकीकरणसहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्तर्क्रियामा वितरित प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा वृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताए। जनवरीदेखि जुनसम्मको अवधिमा ३६६ जना पीडित भएका छन्।
सन् २०२१ को जनवरीदेखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरि १८९ जना पीडित भएका छन्। अप्रिलदेखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ।
इन्सेकको अभिलेखका आधारमा अप्रिलदेखि जुनसम्मको अवधिमा बाल अधिकारका घटनामध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुर्व्यवहारका घटनामा दुई बालक र १९ बालिका, बालविवाहको घटनामा चार बालिका र बलात्कारका घटनामा ५० बालिका गरि ७६ जना पीडित भएका छन्।
महिला अधिकार अन्तर्गतका घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुर्व्यवहारका घटनामा तीन जना गरि ७७ जना महिला पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताए।
जनवरीदेखि मार्चसम्मको अवधिमा बालबालिकाविरुद्ध भएका हिंसाबाट बेचबिखन तथा ओसारपसारमा २, बलात्कारका घटनामा ३४, यौन दुर्व्यवहारका १६, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत अधिकारीले बताए।
उनका अनुसार सोही अवधिमा महिलाविरुद्ध भएका हिंसाका घटनामा ७९ जना महिला पीडित भएका छन्। बलात्कारका घटनामा २८, बलात्कार प्रयासमा १३, यौन दुर्व्यवहारमा एक, घरेलुहिंसाका २५, बेचविखन तथा ओसारपसारका तीन र हुविवाहका नौ वटा घटना इन्सेकले अभिलेखीकरण गरेको जनाएको छ।
अन्तर्क्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्दै आएको वर्ष पुस्तकमा समेट्ने घटनाहरुको अभिलेखिकरण थप सुझाव लिने उद्देश्यले अधिकारकर्मीबीच अन्तर्क्रिया कार्यक्रम गरिएको बताइन्।
कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्मा, इन्सेक प्रदेश प्रमुख सोमराज थापा, इन्सेकका श्रीराम बजगाई, पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल लगायतले बोलेका थिए।