जनकपुरधाम- नेपालले नयाँ संविधान पाएको आइतबार ६ वर्ष पूरा भएको छ। ६ वर्ष अगाडि २०७२ साल असोज ३ गते संविधानसभाबाट बहुमतको आधारमा नयाँ संविधान जारी गरिएको थियो। ६ वर्ष अगाडि संविधान जारी भइरहँदा एकातर्फ खुसियालीमा दिपावली मनाइँदै थियो भने मधेशमा 'ब्ल्याक-आउट' गरिँदै थियो। संविधान जारी भएकै दिन मधेश आन्दोलनमा सहभागी भएका तीन जनाको प्रहरीको गोली लागि मृत्यु भयो। यद्यपि मधेश र मधेशवादी दलको विरोधको स्वरका बीच संविधान जारी भयो।
पछि सोही संविधानलाई टेकेर मधेश केन्द्रित दलकै नेताहरु स्थानीय तहदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी मात्रै भएनन् मन्त्रीसम्म पनि भए। प्रदेश २ मा त तत्कालीन राजपा र समाजवादी पार्टीको नेतृत्वमा सरकार नै गठन भयो। यद्यपि संविधान जारी भएको ६ वर्ष भइसके पनि अहिलेसम्म मधेशवादी दलले नयाँ संविधानलाई अँगाल्न नसकेको देखिएको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन दिएको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले औपचारिक रुपमै विरोधका कार्यक्रमहरु गरेर कालो दिवस मनाएको छ। दुबै दलका नेता कार्यकर्ताहरु जिल्ला-जिल्लामा संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा रहेको भन्दै विरोध जनाएका छन्।
जनकपुरधाममा संविधान दिवसको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टीले विरोध र्याली निकालेको छ। लोसपाका प्रदेशसभा सदस्य परमेश्वर साहको नेतृत्वमा लोसपाका नेता कार्यकर्ताहरुले विरोध र्याली निकालेको हो। र्याली जनकपुरधामको विभिन्न चोकको परिक्रमा गरेको थियो।
उनीहरुले असोज तीन, कालो दिन भन्दै जनकचोकदेखि विरोध र्याली निकाल्दै नगरको विभिन्न भागको परिक्रमा गरी पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
विरोध र्यालीमा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेशका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै उनीहरुले संविधान अपूर्ण रहेको भन्दै विरोधमा प्रदर्शन गरेका हुन्।
प्रदेशसभा सदस्य परमेश्वर साहले नेपालको संविधानमा मधेशी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे। आफूहरुले आफ्नो आवाज बुलन्द गरिरहँदा शासकको गोली बर्साएर संविधान जारी गरेको दिन अझै हाम्रो मानसपटलमा ताजै रहेको उनको भनाइ थियो। संविधानमा मधेशी जनताको अधिकार सुनिश्चित नगरिएकोले आफूहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको उनले बताए।
संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारेजी गर्नुपर्ने, मधेशीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने, सबै नेपाली नागरिकको संविधान बनाउने कोशिस गर्नुपर्नेलगायतका माग आफूहरुको रहेको बताउँदै यी मागहरु पूरा नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा प्रत्येक वर्ष मनाइ रहेको बताए।
यता प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीले संविधान दिवसकै दिन संविधान संशोधन विषयक अन्तरकृया कार्यक्रम गरेको छ। सो अन्तरकृया कार्यक्रममा जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहे पनि प्रदेश सरकारका मन्त्रीहरुको भने सहभागिता थिएन ।
यता सिके राउत नेतृत्वको जनमत पार्टीले समेत जिल्ला-जिल्लामा विरोधका कार्यक्रमहरु गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले कालो दिवसको अवसर पारेर साँझ ६ बजेर १५ मिनेटदेखि ६ बजेर ३० बजेसम्म ब्लैक आउट समेत गरेको छ।
नागरिकता, भाषा, संघीय संरचना, शक्ति बाँडफाँटलगायतका विषयमा मधेस केन्द्रित दल संशोधन चाहिरहेका छन्। प्रदेशलाई अधिकार नदिइएको, स्थानीय तहलाई संघीय सरकार अन्तर्गत राखिएको विषयमा समेत असन्तुष्टि छ। त्यस्तै, आमाको नामबाट नागरिकता पाउनुपर्ने, जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने जस्ता प्रावधान संविधानमा राख्नुपर्ने समेत उनीहरूको माग छ।
प्रदेश २ सरकारकै मन्त्रीले मनाए संविधान दिवस
प्रदेश २ सरकारमा अहिले जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्र सहभागी छन्। प्रदेश सरकारको प्रमुख घटक दल जसपाका मन्त्रीहरु न विरोध कार्यक्रममै सहभागी भएको देखिए भने न संविधान दिवस नै मनाए।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार न त उत्सव मनाएको न विरोध नै गरेको जानकारी दिए। उनले भने, ‘संविधानले संघीयता, समानुपातिक र समावेशिता लगायतका केही राम्रा कुराहरु दिएकाले हामी वर्तमान संविधानको सम्मान गर्छौ तर हाम्रा धेरै मुद्दा र मागहरु सम्बोधन हुन नसक्दा उत्सव मनाउने स्थिति छैन।’
मुख्यमन्त्री राउतले अगाडि भने, ‘जुन दिन मधेशी जनताको छातीमा गोली ठोकेर संविधान ल्याइयो त्यो दिनलाई हामी उत्सवको रुपमा कसरी मनाउने?’
यता प्रदेश २ सरकारमै सहभागी रहेका माओवादी केन्द्र तथा नेपाली कांग्रेसका मन्त्रीहरुले खुसियाली मनाएका छन्।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले संविधान दिवसको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा रहेको नोचा पोखरी सरसफाई गरेका छन्। सो अवसरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
त्यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले समेत मधेश भवन परिसरमै संविधान दिवसको अवसरमा खुसियाली साटासाट गरेका छन्।
संविधान दिवसकै दिन संविधान खारेजीको माग
संविधान दिवसको अवसरमा देशैभरी खुसियाली तथा दिपावली मनाइएको छ। तर संविधान दिवसकै दिन जनकपुरधाममा संविधान खारेजीको माग गुञ्जेको छ। वर्तमान संविधान खारेज गरी २०४७ सालको संविधान जारी गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी नागरिक समाजले आइतबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ। उनीहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने माग समेत गरेका हुन्।
विरोध प्रदर्शनमा सहभागीहरुले संघीयता खारेज गर्न माग गर्दै एमसीसी पास गर्न पाइँदैन्, नेपाललाई गुलाम बनाउन पाइँदैन भन्दै नाराबाजी पनि गरेका थिए। जनकपुरधामस्थित रेल्वे स्टेशनबाट निकालिएको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।