काठमाडौं– रासायनिक मल समयमा आयात नगरेको आरोप लागेका ठेकेदार र कोरोना महामारीको समयमा बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेका अस्पताल निर्देशकले पनि सरकारबाट पदक पाएका छन्।
मल आयातको जिम्मा लिएर समयमा ल्याउन नसकेका ठेकेदार हुमनाथ कोइरालाले प्रबल जनसेवाश्री र महामारीको समयमा जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने भन्दै पन्छिएका कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले सुर्कीतिमय राष्ट्रदीप पदक पाउने भएका हुन्।
आइतबार संविधान दिवसको अवसरमा घोषणा गरिएको पदकको सूचीमा कोइराला र डा. खड्काको पनि नाम छ।
कोइराला सञ्चालक रहेको होनीको मल्टिपल प्रालिले समयमा मल नल्याएपछि गत साल भदौमा कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो। सिफारिसअनुसार कार्यालयले होनीको मल्टिपललाई सन् २०२१ मार्च ६ देखि २०२२ मार्च ५ तरिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ। उक्त कम्पनी कालोसूचीमा परेको ६ महिना पनि पुगेको छैन। प्रबल जनसेवाश्री विभूषणको १०८ नम्बरमा कोइरालाको नाम छ।
समयमा मल नल्याएपछि होनीकोसँगै शैलुङ इन्टरप्राइजेज पनि कालोसूचीमा परेका छन्।
होनीकोले २५ हजार टन मल आयातको ठेक्का पाएको थियो। मल नल्याएपछि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले उसको धरौटी जफतको निर्णय गरेका थिए। मल नपाएर किसानको बिजोग भएपछि सरकारले बंगलादेशबाट सापटीको रूपमा मल ल्याएर अभाव टारेको थियो।
उता, सुर्कीतिमय राष्ट्रदीप पदक पाएका कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोभिड—१९ महामारीको दोस्रो लहरमा अस्पतालमा अक्सिजन नभएको भन्दै बिरामी भर्ना गर्न नसकिने सार्वजनिक सूचना जारी गरेका थिए। प्रदेशकै सबैभन्दा ठूलो अस्पतालले बिरामी नलिने घोषणा गरेपछि तत्कालीन प्रदेश सरकारले उनीविरुद्ध छानबिन गरी कारबाहीको तयारी गरेको थियो। कर्णाली सरकारका प्रवक्ताले पत्रकार सम्मेलन नै गरेर निर्देशक खड्कामाथि छानबिन सुरु गरिएको र उनलाई कारबाही गरिने बताएका थिए।
तर, सत्तारुढ दल नेकपामा विवाद बढेर कर्णाली सरकारमा हेरफेर भएसँगै उनको कारबाही रोकिएको थियो। अस्पतालले जारी गरेको सूचना संविधानको मौलिक हकविपरीत भएको भन्दै डा. खड्काविरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दासमेत परेको थियो। सो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ। अस्पतालले बिरामीको उपचार गर्न नसकिने सूचना प्रकाशित गरेपछि सरकारले उक्त अस्पताललाई केन्द्र मातहतमा राख्ने प्रक्रिया पनि सुरु गरेको थियो।
सरकारले यस वर्षको संविधान दिवसको दिन बाँड्न लागेका पदकमध्ये स्वास्थ्यतर्फ सबैभन्दा ठूलो पदक पाउने चिकित्सक हुन्, डा. खड्का। उनी नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काका भाइ हुन्।