काठमाडौं- नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा र वीर अस्पतालका छातिरोग विशेषज्ञ डा. अशेष ढुंगानाले पनि सरकारले दिएको पदक अस्वीकार गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै दुवै जनाले पदक अस्वीकार गरेको घोषणा गरेका हुन्।
‘नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद, तर, पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैं पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ,' उनले लेखेका छन्, 'नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ।'
‘हुन त राष्ट्रसेवा वा बिरामीको सेवा र उपचार गर्दा पुरस्कार/मान/पदवी /सम्मानको आशाले गरिएको हुँदैन र गर्नु पनि हुँदैन। तर काम गर्दै जांदा पुरस्कार पाउदा खुशी हुनु स्वाभाविक हो र यसले अझ राम्रो काम गर्दै जाने हौसला प्रदान गर्छ। संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेहरूमा देख्दा खुशी लागेतापनि पदक दिंदा विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धि मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह/श्रेणी र साथसाथै मेरो शैक्षिक पद (सह प्राध्यापक ) सरह नमिलेको हुनाले नेपाल सरकारलाई पुरस्कार प्रदान गरेकोमा धन्यबाद ज्ञापन गर्दै सहर्ष अस्विकार गरेको घोषणा गर्दछु,' डा ढुंगानाले फेसबुकमा लेखेका छन्, 'पदक पाउने सम्पूर्ण महानुभावहरूलाई बधाई ज्ञापन गर्दै नेपाल सरकारले भाविष्यमा प्रदान गर्ने पुरस्कार/मान/पदवी/सम्मानहरू विवादरहित रहोस भन्ने कामना गर्दछु। साथै चिकित्सकीय सेवा प्रदान गर्ने क्रममा आफ्ना बिरामी र बिरामीका आफन्तजनहरूबाट पाइएको धन्यवाद नै सबैभन्दा ठुलो पुरस्कार हुने हुँदा सो पाइरख्ने आशा गर्दछु।’
सरकारले संविधान दिवसका अवसरमा ९ सय ३ जनलाई विभिन्न पदक दिने निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णय सार्वजनिक भएसँगै विभिन्न क्षेत्रका व्यक्तिहरूले पदक अस्वीकार गर्ने घोषणा गरिरहेका छन्।
यसअघि नेपाल समयका प्रधान सम्पादक नारायण अमृत, इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापा र नागरिक दैनिकका कार्टुनिस्ट रविन साय्मिले पनि पदक अस्वीकार गरिसकेका छन्।