काठमाडौं- विश्वकै पहिलो भनिएको कीर्तिपुर मच्छेगाउँ अवस्थित सालक पदमार्गमा सेप्टेम्बर १८ मा विश्वभर मनाइने गरेको सफाइ दिवस (क्लिनअप डे) मनाइएको छ।
सो अवसरमा मच्छेगाउँको बाघभैरव सामुदायिक वनदेखि चम्पादेवी डाँडासम्मको ‘सालक पदमार्ग’ मा मार्गमा फालिएका नकुहिन फोहोर सहभागीहरूले धोक्रामा संकलन गरे। झण्डै दुई किलोमिटर वरपरको क्षेत्रमा फालिएको फोहोर संकलन गरिएको थियो।
‘प्रकृति र प्राणीको अन्योन्याश्रित सम्बन्धलाई मानवीय हेलचेक्र्याइँले व्यवधान गरेको छ,’ आयोजक संस्थाका दिव्यराज दाहालले भने, ‘यो क्षेत्र सालक तथा अन्य धेरै प्राणीको वासस्थान भएकाले तीनको वासस्थानमा फोहोर गर्नु हुन्न भन्ने सन्देश कार्यक्रममार्फत दिने प्रयास गरेका छौं।’
संस्थाकी अध्यक्ष सुचिता श्रेष्ठले फाउन्डेसनले साना स्तनधारी प्राणीको संरक्षणमा विगतदेखि नै चासो राख्दै कार्यक्रमहरू गर्दै आएको जनाउँदै संरक्षण शिक्षा र चेतनालाई उजागर गर्न सफाइ अभियान आयोजनामा गरिएको बताइन्।
सफाइ अभियानमा सहभागी भएका मीरा राई इनिसियटिभका सदस्यहरूले यस अभियानले आफूहरूले प्राणी संरक्षण तथा वासस्थानको सुरक्षा गर्नुपर्ने शिक्षा ग्रहण गर्न पाएको बताए।
सफाइ अभियानका लागि मच्छेगाउँ पुगेका सहभागीहरूले नदी सफाइ अभियान चलाएजस्तै मानवीय क्रियाकलापले काठमाडौं वरपरका जंगल पनि फाहोर हुँदै गएकाले सफाइ अभियान चलाउनुपर्ने धारणा व्यक्त गरे। अभियानमा बाघभैरव सामुदायिक वनका सदस्यहरूको पनि सहभागिता रहेको थियो।
साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले बाघभैरव सामुदायिक वन, तामाङ सुधार समाज, तामाङ महिला उत्थान समाज, एनसिएससी, रोस्ट्रयाक क्लब, नगरपालिका, इओसिएलगायतको संस्थाको संयुक्त आयोजनामा गरेको कार्यक्रममा युवा संरक्षणकर्मी तथा विद्यार्थीको उपस्थिति थियो।
नेपालमा सालक
कमिला, धमिराको संख्यालाई नियन्त्रण गर्न सालकले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यसले माटो खन्ने, प्वाल पार्नेलगायतको कार्यले माटोमा अक्सिजन प्रवाह भई माटोको उर्वरा शक्ति बढ्छ। सालकले प्वाल पार्ने कार्य गर्दा सर्पलगायतका जिवलाई वाससस्थान उपलब्ध हुन्छ।
लजालु स्तनधारी जन्तु सालक किसानका साथी मानिन्छन्। सालकले मानिसलाई हानी गर्दैन। कीरा र कमिलालाई आहारा बनाउने सालकको संख्या भने घटिरहेको अनुमान छ।
विश्वमै अति दुर्लभ मानिने सालक नेपालमा कालो र तामे गरेर दुई प्रकारका पाइन्छन्। यसमा चाइनिज सालक भनेर चिनिने कालो सालक अति संकटापन्न सूचीमा छ। नेपालका ६२ वटा जिल्लाहरूमा सालक पाइन्छन्।
विश्वमा एसिया र अफ्रिका महादेशमा मात्र सालक पाइन्छ। जम्मा ८ प्रजातिका सालक मध्ये २ प्रजातिको सालक नेपालमा पाइन्छ।
‘सालक पाइने जिल्लाको संख्या बढेको छ तर त्यसबाहेक सालकबारे थाहा पाउनुपर्ने कुरा धेरै बाँकी छन्। सालकलाई मार्नेबाहेक त्यसको औषधीय गुण हुन्छ भन्ने जनविश्वासबाहेक सालक संरक्षण गर्नुपर्छ भन्ने कुरा विश्वमा त्यही सुनिएको छैन। यो कुरा दुःखलाग्दो छ,’ प्राणीशास्त्री प्रा. डा. करन शाहको टिप्पणी छ।
विगतका अध्ययन, अनुसन्धान तथा अनुभवबाट पाठ सिक्दै संरक्षणका कार्य अघि बढाउनुपर्ने तर्क राख्दै शाहले हालका अनुसन्धानहरू सन्तोषजनक नभएको बताए। ‘सय वर्ष अघि लेखिएका कुरा नै धेरै नेपाली अनुसन्धानकर्ताले दोहोर्याइरहेका छन्,’ उनले भने।
उनले अबका अनुसन्धानकर्ताले सालकका नयाँ कुरा ल्याउनुपर्ने बताए। ‘सालकको खानाको बानी बारे तथा तीनको आकारप्रकार बारेका जानकारी खोज्नुपर्छ,’ शाहले भने।
केन्द्रीय प्राणीशास्त्र विभागका पूर्वप्रमुख प्रा. डा. झमकबहादुर कार्कीका अनुसार संरक्षणको काम सजिलो नभए पनि प्राणीशास्त्रका विद्यार्थीले संरक्षणको काममा लाग्नुको विकल्प छैन। ‘ठूला जनावरको संरक्षणका लागि बजेट उपलब्ध हुन्छ तर साना जीवजन्तुको संरक्षण प्राथमिकतामा परेको छैन। बजेट पनि उपलब्ध छैन,’ कार्कीले भने, ‘यस्तो अवस्थामा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले गरेको कार्य सरहानीय छ। सालकको संरक्षणका क्षेत्रमा भएका यी गतिविधिलाई निरन्तरता दिनुपर्छ।’
‘हामीले चम्पादेवि, चन्द्रागिरिमा सफाइ अभियानलाई वर्षैभरि सञ्चालन गर्ने कार्यक्रम बनाएका छौं,’ दाहालले भने, ‘यो क्षेत्र सालकलगायतका प्राणीको वासस्थान भएकोले उनीहरूको विष्टामा प्लाष्टिक देखिएकाले यो क्षेत्रमा सरसफाइ गर्नु पर्ने देखिएको छ।