बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कांग्रेसको खेलाडी सम्मान : महाधिवेशन प्रभावदेखि खेलकुद ऐनको विरोधसम्म

कांग्रेसको खेलाडी सम्मान : महाधिवेशन प्रभावदेखि खेलकुद ऐनको विरोधसम्म

सानेपास्थित पार्टी कार्यालयमा सभापति देउवा, नेता प्रकाशमान सिंह, खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल लगायतले स्वर्णधारी खेलाडीलाई सम्मान गरे।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी महाधिवेशन भएको लामो समय बिते पनि विस्तार गर्न नसकेको आरोप लाग्दै आएको छ। कांग्रेसले २०७२ फागुनमा महाधिवेशन गरेको भए पनि उसले विभिन्न विभागहरु विस्तार गरेको थिएन।

National life

जसकारण सबैभन्दा पुरानो लोकतान्त्रिक दल भएको दाबी गर्ने कांग्रेसको भ्रातृ संगठनको विवाद बेलाबेलामा चर्किरहन्छ। कतिपय भ्रातृ संगठन त स्थापनाकालदेखि नै महाधिवेशनविहिन छन्। कतिमा सभापतिको जोडबलमा तदर्थ समिति गठन गरिएको छ।

यता अर्को महाधिवेशन नजिकिँदै गर्दा सभापतिले पार्टी विस्तारमा ध्यान दिन थालेका छन्। यसलाई अर्काे खेमाले महाधिवेशन प्रभाव पार्न खोजेको आरोप लगाउँदै आएको छ। देउवाले मोहनबहादुर बस्नेतको संयोजकत्वमा दुई हप्ताअघि खेलकुद विभाग गठन गरे। विभागको साउन ५ गते बसेको बैठकले सागका स्वर्णधारी खेलाडीलाई सम्मान गर्ने निर्णय गर्यो।

उसले एकल विधामा एक स्वर्ण जित्नेलाई १० हजार, दुई स्वर्णलाई १५ हजार र चार स्वर्णलाई २५ हजार नगदले पुरस्कृत गर्ने निर्णय गरेको थियो। टिम इभेन्टमा स्वर्ण जित्नेलाई पनि १० हजार रुपैयाँका दरले पुरस्कृत गरिने बताइएको थियो।

सोही योजनाअनुरुप आज सानेपास्थित पार्टी कार्यालयमा सभापति देउवा, नेता प्रकाशमान सिंह, खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल लगायतले स्वर्णधारी खेलाडीलाई सम्मान गरे।

Laxmi sunrise bank
kumari

कार्यक्रममा बोल्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सामान्यदेखि सभ्रान्त परिवारमा जन्मेका नेपाली खेलाडीले देशलाई विश्वमा चिनाएको बताएका छन्। खेलाडीले ऊर्जाशील समय खेलमा बिताएको भन्दै खेलाडीको समर्पण कदर गर्दै सम्मान गरिएको समेत उनले बताए।

“खेलाडीले यौवनको जिन्दगी पनि खेलमा समर्पित गरेका छन्। धेरै खेलाडीले खेललाई नै जीवन मानेका छन्,” उनले भने, “हामीले गर्नुपर्ने धेरै छन्। १३ देखि २४ वर्षसम्म काम गरेका मनिसको वृत्ति विकास भएको छैन, यो विषयमा सरकारले पनि ध्यान देओस्।”

उनले टोकियो ओलम्पिक खेल्ने नेपाली खेलाडीको नाम उपलब्ध भएको १० दिनभित्र कोरोना बिमा गरिदिने पनि बताएका छन्। साथै खेलकुद विभाग प्रमुख बस्नेतले भर्खरै जारी भएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले खेलकुद विकास गर्न नसक्ने दाबी गरेका छन्।

भन्छन्, “यहाँ ओलम्पिक कमिटीले बाहिरबाट पैसा ल्याउँदा सरकारको स्वीकृत लिनु नपर्ने अरु संघले पर्ने? ऐन विभेदकारी छ। यसले खेलकुदको विकास गर्न सक्दैन।”

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद सबैको साझा सम्पत्ति भएको र यो समाजको उत्पादनशील क्षेत्र भएको बताएका छन्। उनले भने, “खेलकुद कुनै राजनीतिक पार्टीको पेवा होइन। यसमा सबैको हक छ। साथै सरकारले खेलकुदलाई उत्पादनहिन क्षेत्रका रुपमा राख्ने गरको छ। तर, खेलकुद प्रोडक्टिभ क्षेत्र हो।”

उनले पनि खेलकुद ऐनमा समस्या रहेको बताएका छन्। सिलवालले भने, “यो ऐनमा केही समस्या अवश्य छ। यसमा खेलकुदविद्को सल्लाह सुझाव समावेश गरेर फेरि पुनर्विचार गर्नुपर्छ।”

उनले कांग्रेसले खेलाडीको सम्मान गरेर राम्रो सुरुवात गरेको बताए। त्यस्तै, पुरस्कृत खेलाडी मण्डेकाजी श्रेष्ठले आफूलाई सम्मानले उत्साहित बनाएको बताएका छन्।

उनले भने, “पार्टीले मात्र राज्यले दिने मानपदवीमा पनि खेलाडीलाई समावेश गर्नुपर्छ। त्यहाँ स्वर्ण विजेता खेलाडीले ठाउँ पाउनुपर्छ।”

त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवाले सबै सम्मानित खेलाडीलाई बधाई दिएका छन्। र, बढ्दो कोरोनाको महामारीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित रहन सुझावसमेत दिएका छन्।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्णसहित २०६ पदक जितेको थियो, जसमा कांग्रेसले आज ५१ स्वर्णधारी खेलाडीलाई सम्मान गरेको हो। उसले विस्तारै रजत र काश्य पदक विजेतासहित प्रशिक्षकलाई पनि सम्मान गर्ने बताएको छ।

प्रकाशित: Jul 31, 2020| 19:34 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।