काठमाडौं– काठमाडौं उपत्यका बाहिर रहेका नेपाली राष्ट्रिय फुटबल खेलाडीमध्ये २१ खेलाडी काठमाडौं आइपुगेका छन्।
लकडाउनका कारण लामो समयदेखि घरमै रहेका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले साउन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुने निर्देशन दिएको थियो।
निर्देशनबमोजिम आज दिउँसोसम्ममा २१ खेलाडी काठमाडौं आइपुगेका राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए। उनले नेपाल समयसँग भने, ‘अहिले दिउँसोसम्म २१ खेलाडी उपस्थित भइसकेका छन्। बाँकी बाटोमा छन्, भरेसम्म आइपुग्ने भनिएको छ।’
तर राष्ट्रिय टोलीमा रहेका रेजिन धिमालको भने पारिवारिक कारणले केही ढिलो मात्र टोलीमा सहभागी हुने व्यवस्थापक उपाध्याय बताउँछन्। यसका साथै रेजिनबाहेक आज साँझ ३३ खेलाडी काठमाडौं पुग्नेछन्।
नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक सदस्यमा विकेश कुथू, विशाल श्रेष्ठ, एलन न्यौपाने, राजिन धिमाल, सुमन आर्यान, अनन्त तामाङ, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, सुजल श्रेष्ठ छन्।
साथै अन्य सदस्यहरुमा विकास खवास, देवेन्द्र तामाङ, दिलेन लोक्तान, विशाल राई (बी), शेसेहाङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, रावि पासवान, सुनिल बल, अन्जन विष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना छन्।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफा र एसियाली फुटबल महासंघले नेपालमा आगामी असोज–कात्तिकमा विश्वकप र एसिया कपको संयुक्त क्वालिफायर खेल गराउँदै छन्।
नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग दोस्रो चरणको १–१ खेल खेल्न बाँकी छ। पहिलो चरणका खेलसँगै कुबेतसँगको दोस्रो खेल पनि सम्पन्न भइसहेको छ। बाँकी खेलमा नेपालले असोज २२ गते चाइनिज ताइपेसँग, असोज २७ मा अस्ट्रेलिया र कात्तिक २७ मा जोर्डनसँग खेल्दैछ।
समूह बीमा रहेको नेपाल समूहको चौथो स्थानमा छ। यता नेपालका प्रशिक्षक योहान कालिनले भने अन्तिमबाट दोस्रो स्थानमा भन्दा पनि सुरुबाट चौथो स्थानमा भएकाले टोलीले राम्रो गरेको बताउँदै आएका छन्।
कोरोना परीक्षणमा ढिलाइ हुने
एन्फाले भोलि (शनिबार) खेलाडीको कोरोना परीक्षण गर्ने योजना बनाएको भए पनि केही दिन ढिलो हुने भएको छ। ‘आज साँझसम्म खेलाडीहरु काठमाडौं आइपुग्छन्। एक–दुई दिन रेस्ट गरेर कोरोनाको परीक्षण हुने छ,’ उनले भने।
यो पनि : राष्ट्रिय टिमको प्रारम्भिक टोली घोषणा
फुटबल पर्खेर बसेको दशरथ रंगशाला