पोखरा– पोखरा महानगरपालिकाले फोहोरलाई घरमै वर्गीकरण तथा व्यवस्थापनका लागि अभियान सञ्चालन गर्ने भएको छ।
‘छुट्याऔं फोहोर, बनाऔं मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा अभियान सञ्चालन गर्न लागिएको हो।
पहिलो चरणमा वडा नम्बर १, ५, ८, १०, १३, १६, १७, १९, २६ र २७ मा अभियान सञ्चालन गर्न लागिएको छ।
अभियान सञ्चालन गर्न महानगरपालिकाका प्रमुख मानबहादुर जीसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्र समेटेर एक सय ४८ सदस्यीय मूल समिति गठन गरिएको छ।
समितिको बिहीबार सम्पन्न बैठकमा प्रमुख जीसीले घरमा उत्पादन हुने फोहोरलाई तीन प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा गर्न लागिएको बताए।
कुहिने फोहोरलाई कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्दै कौसीखेती वा करेसाबारीमा सदुपयोग गर्न सघाइने उनको भनाइ छ।
फेरि प्रयोग हुने फोहोर बिक्री गरी आन्दानी गर्ने र फाल्नैपर्ने फोहोर छुट्टै संकलन गरी महानगरले व्यवस्था गरेअनुसार विसर्जन गर्न अभियानको उद्देश्य छ।
बैठकले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घरघरमा तीन प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई चार महिनासम्म निरन्तरता दिने, चार महिनाभित्रमा फोहोरमैला व्यवस्थापन, मूल्यलगायतका मापदण्ड निर्माण गरी स्वीकृतिका लागि महानगरमा सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको मूल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले जानकारी दिइन्।
बैठकमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सबैको साथ, सहयोग र सुझाव समेटेर अभियान अगाडि बढाइने बताए।
सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै पोखरामा दैनिक १ सय ८२ टन फोहोर उत्पादन हुने गरेको बताए। उनका अनुसार फोहोरमध्ये ८० प्रतिशत घरायसी फोहोर नै उत्पादन हुने गरेको छ।
पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले कार्यपत्र प्रस्तुत गर्दै पोखरा महानगरका एक लाख ५० हजार घरमा कौसीखेती गर्दा मासिक ५० करोडसम्मको तरकारी फलाउन सकिने बताए। घरबाट निस्कने कुहिने फोहोरलाई मल बनाएर कौसी खेती गर्न सकिने उनको भनाइ छ।
पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मुल समितिका सदस्य सचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रुपमा कर्मचारी नियुक्ति गरेर सरसफाइ अगाडि बढेको बताइन्।