काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ५ वर्षसम्म केपी शर्मा ओली नेतृत्वकै सरकार कायम रहनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले यो सरकारको विकल्प खोज्न नहुने बताएका हुन्।
उनले भने, ‘इतिहास कायम गर्नुपर्छ, ५ वर्ष ओली नेतृत्वमा सरकार अगाडि बढ्नुपर्छ।’
सरकार ढाल्ने बाटोमा लाग्दा देश अस्थिरतातर्फ जाने भएकोले दुई अध्यक्ष मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।
आपूर्तिमन्त्री भट्टले बाढीपहिरोले आपूर्ति प्रभावित भएकोले तरकारीको मूल्य आकाशिएको बताएका छन्।
‘मागका अनुपातमा आन्तरिक उत्पादन कम भएकोले थोरै अवरोध हुनासाथ मूल्य बढ्ने गरेको छ,’ उनले भने, ‘यस विषयमा मन्त्रालयले सम्बन्धित निकायमा आवश्यक निर्देशन दिइसकेको छ, तत्कालै मूल्य नियन्त्रण हुन्छ।’
आपूर्ति र व्यवस्थापनको लागि योजना बन्दै गरेको भन्दै मन्त्री भट्टले बजार, उपभोक्ता र किसानबीच ‘चेन’ बनाउने काम भइरहेको जानकारी दिएका छन्।
महंगी, कालोबजारी बढ्न नदिन आफू प्रतिबद्ध भएको पनि मन्त्री भट्टले बताए।