आइतबार, भदौ २१, २०८३

फुटको संघारमा पुगेको हो त नेकपा ?

अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडानमा रहेका ओली स्थायी कमिटी बैठकको सामना गर्न हच्किरहेका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं– सत्तारूढ नेकपाको आन्तरिक विवाद झन् पछि झन् जेलिँदै गएको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि स्थायी समिति बैठक टार्दै आएका छन्।

पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएको बताउँदै आएको अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिइरहेको छ।

दुई पक्षबीचको विवाद मिलाउन सचिवालयले दुई अध्यक्षलाई दिएको जिम्मेवारीले मूर्त रूप लिन नसकेपछि असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक अन्योलपूर्ण बनेको छ।

मंगलबार भएको घटनाक्रमले पनि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको देखिन्छ। बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक डाकिएको थियो। स्थायी कमिटी सदस्यहरु बैठकको तयारीका लागि बालुवाटार जाँदै थिए।

१० बजेर ३३ मिनेटमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको सूचना सार्वजनिक गरे।

उनले ट्विटरमा लेखे, ‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले आज ११ः०० बजे हुने भनिएको पार्टी स्थायी कमिटी बैठक स्थगित गरिएको छ।’

बैठक स्थगितको हल्लापछि स्थायी कमिटी सदस्यहरु अन्योलमा परे। यद्यपि अधिकांश नेता बालुवाटार पुगिसकेका थिए। अर्का अध्यक्ष दाहालले आफूसँग सल्लाह नै नगरी बैठक स्थगित गरेको भन्दै बैठक बस्ने आश्वासन दिए।

बैठक बस्नुअघि उनी र वरिष्ठ नेता झलनाथ खनाल बैठक स्थगित गर्नुको कारण माग्न ओलीलाई भेट्न गए। ओलीसँगको भेटमा दाहालले दुई अध्यक्षबीच सहमति नगरी किन बैठक रोकिएको हो भनेर सोधेका थिए। ओलीले 'छलफलका लागि तपाइँ नआएकै कारण बैठक रोकिएको' जबाफ दिएका थिए। सहमतिविपरीत स्थगित गरेकाले बैठक बस्ने जानकारी गराएर दाहाल र खनाल फर्किए।

त्यसपछि सुरु भयो दाहाल र माधव नेपाल निकटका स्थायी कमिटी सदस्यको बैठक। २९ सदस्य सहभागी बैठकले पार्टीको विधानविपरीत स्थायी कमिटी बैठक स्थगित गरिएको निष्कर्ष निकाल्दै सहमतिका लागि अध्यक्ष दाहाललाई जिम्मेवारी दिने निर्णय गर्यो।

साथै सहमति नभए पार्टीको बहुमतबाट निर्णय गरेर अघि बढ्ने निष्कर्ष पनि निकाल्यो।

ओलीले भने– तपाईंहरू के गर्ने हो गर्नुस्, बैठकमा म आउँदिनँ

अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडानमा रहेका ओली स्थायी कमिटी बैठकको सामना गर्न हच्किरहेका छन्।

असार २० गते बोलाएको बैठक २२ गते सारियो, २२ गते बैठक नै नबसी २४ गतेका लागि सारियो, २४ गतेको बैठक २६ गतेसम्म स्थगित गरियो।

२६ गतेको बैठक बाढीपहिरोको कारण देखाउँदै साउन २ गते सम्मका लागि रोकियो। २ गते पनि बैठक बसेन, ४ गतेका लागि सारियो। ओलीले ४ गतेको बैठक पनि ६ गतेसम्मका लागि स्थगित गरे।

६ गते बसेको बैठक एजेन्डामै छलफल नगरी १३ गतेसम्म स्थगित गर्ने निर्णय भयो। १३ गतेको बैठक बस्दै–नबसी स्थगितको सूचना जारी गरियो।

आठ पटक बैठक स्थगित हुँदासम्म दुई अध्यक्षबीच कुनै सहमति नजुट्ने, दुवै पक्ष आफ्नो अडानबाट पछि नहट्ने स्थिति बनेपछि पार्टी फुट नजिक पुगेको आकलन गर्न थालिएको छ।

यसबीचमा अध्यक्ष ओलीले प्रतिपक्षी नेताहरूसँगको संवाद पनि बढाएका छन्। पछिल्लोपटक उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।

पर्यटनमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराईले मंगलबार ट्विट गर्दै लेखेका छन्, ‘दुर्घटना नजिक देखिन्छ। सबै रोकिऔं। सल्लाह गरौं।’

पार्टी अध्यक्ष दाहालले पनि पछिल्ला गतिविधिले पार्टी गम्भीर संकटमा पुगेको बताएका छन्। उनले पुष्पलाल स्मृति प्रतिष्ठानले साउन ९ गते गरेको कार्यक्रममा आफूलाई सर्वोपरि ठान्ने र मनपरि निर्णय गर्ने प्रवृत्ति नरोके ठूलो दुघर्टना निम्तिने बताएका थिए।

उनले भनेका छन्, ‘पार्टी गम्भीर संकटमा गएको छ। एकअर्काको विचारलाई, भावनालाई, संवेदनशीलतालाई हामी सम्बोधन गर्ने चाहेका छैनौं भन्ने नै देखाउँछ।’

प्रकाशित: Jul 28, 2020| 20:25 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।