काठमाडौं- वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान (इन्द्रजात्राको लिंगो उठाउने काम) गरिएको छ ।
हनुमानढोका परिसरमा शनिबार बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरएको हो । कोरोना संक्रमणको जोखिमका कारण गत वर्ष पूजा विधि मात्र गरिएको इन्द्रजात्राको इन्द्रध्वजोत्थान यसपाली सम्पूर्ण विधिविधान अनुसार उठाइएको छ । शनिबार उठाइएको लिंगोको छनोटदेखि उठाउने समयसम्म र जात्रा सकिए पछि ढाल्ने सम्मको विधि साइत हेरेर गर्ने चलन छ ।
जसअनुसार भदौ २३ गते बुधबार बिहान १०:५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो । त्यसै दिन बेलुकी ७:२७ मा लिंगोका लागि रुख काटिएको थियो । लिंगोका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चांग निर्णायक समितिले दिएको थियो । भदौ २९ गते बिहान १०:३४ बजे भोटाहिटीबाट लिंगोलाई नगर प्रवेश गराइएको थियो ।
इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ । असोज ८ गते नानिचा यात्रा गरि सकेपछि त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिंगो ढालिने साइत छ । इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार गई जात्रा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।