भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा कम्तीमा पनि ९३ जनाको ज्यान गएको छ। यस राज्यमा गएको हप्ता दिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो।
आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार बिहानसम्ममा ९३ जनाको ज्यान गएको छ। उनीहरुको बाढीका कारण कोही बगेर र केहीको डुबेर ज्यान गएको हो । यहाँका २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन्। उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।
यहाँ ३०० भन्दा बढी चौपाया पनि मरेका छन् । हप्ता दिनदेखि अविरल रुपमा वर्षा भइरहेको छ । यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायत छन् ।
बढी मात्रामा प्रभावित भएका जिल्लाहरु कम्तीमा पनि २६ ओटा रहेका जनाइएको छ। वर्षा अझै रोकिएको छैन र खतरा पनि टरेको छैन।
यहाँ वर्षेनी बाढीले सयभन्दा बढी नागरिकको ज्यान लिने गरेको छ। गत वर्ष पनि यहाँ यस्तै भिषण वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएको थियो।