संकटकाे पीडालाई कलाकारले आफ्ना सिर्जनामा प्रस्तुत गरेर यस क्षेत्रमा नयाँ आयाम थपिदिएका छन्।
लकडाउन धेरै क्षेत्रका लागि संकटको समय भए पनि केही क्षेत्रमा यो वरदान साबित बनेको छ। यस्तै क्षेत्र हो चित्रकला।
‘अरु बेला वर्ष दिन जतिमा गर्न सकिने काम मैले यो चार महिनाको अवधिमा गर्न पाएँ,’ चित्रकार भाइराज महर्जन भन्छन्, ‘घरै बस्नुपर्ने बाध्यता सिर्जना गर्नलाई दिइएको समय जस्तो लाग्यो।’
कला सर्जकलाई यो समय उन्नत रहेको उनले बताए। ‘सुरुमा त मलाई के विषयमा सिर्जना गर्ने भन्ने द्विविधा पनि भएन। कोरोनाले नै समात्यो तर समयक्रममा समाचार र समाजको आवाज सुन्दा यही कोरोना निराशाको स्वर जस्तो लाग्यो। फेरि सकारात्मक ऊर्जालाई कसरी उठाउन सकिन्छ भन्ने विषयमा कला सिर्जनामा व्यस्त हुन थालें,’ उनले भने ।
आफू संलग्न संस्था इआर्टसले कोभिड महामारीको समयमा अनलाइन प्रदर्शनी पनि गर्न भ्याएको महर्जनले बताए। ‘एक जना कलाकारको कृति एक महिनासम्म प्रदर्शनीमा राख्ने गरी कोभिडको विषयमा भएको प्रदर्शनी पनि सन्तोषजनक रह्यो। झन्डै तीस जना कलाकार सहभागी भए,’ उनले भने।
सांस्कृतिक सम्पदा संरक्षण विषयमा चित्रकला बनाउँदै आएका कलाकार विनोद प्रधानले पनि लकडाउनमा कला सिर्जनामा उभार आएको बताए। ‘घरै बस्नुपर्ने भएपछि काममा एकोहोरिन पाइयो। परिवारको पनि साथ सहयोग भएकाले अरु बेला झन्डै एक डेढ वर्ष लाग्ने जति काम गर्न भ्याएँ। १३ वटा चित्रकला पूरा गरें,’ प्रधानले भने।
उनी कोभिडको विषयलाई लिएर मोना म्युजिमले गरेको कला प्रदर्शनीमा पनि सहभागी भए। ‘कोभिडको विषयमा विदेशबाट आयोजित एउटा प्रदर्शनीमा पनि भाग लिएँ,’ उनले भने।
उनले नियमित विषयभन्दा भिन्न विषयमा पनि पाँच सातवटा सिर्जना गरेका छन्। ‘महामारीले सबैलाई त्रसित बनाए पनि आखिर जीवन त अघि बढाउनैपर्यो,’ उनले भने, ‘अन्यत्रको तुलनामा हामी नेपाली ठूलो मानवीय क्षतिबाट बचे पनि आर्थिक मार छँदै छ। आशा गरौं समयक्रममा सबै मिल्दै जाला।’
चित्रकार आशा डंगोलले लकडाउनको समयमा सिर्जनामा केन्द्रित हुन पाएको अनुभव सुनाए। ‘कहीँ जानु थिएन । केही गर्नु थिएन,’ आशाले भने, ‘अनि भए जति समय सबै चित्रकलामै लगाउन पाइयो।’
लकडाउनले स्वतन्त्रताको महत्त्व सिकाएको अनुभव आशाको छ। ‘लकडाउन अवधिमा आफू घरमै थुनिनुपर्दा मानिसले थुन्ने गरेका अरु प्राणीप्रतिको संवेदनशीलताले मलाई छोयो,’ आशाले भने, ‘मानव आफूलाई चेतनशील ठान्छ तर चौपाया र चराचुरुंगीलाई आफ्नो स्वार्थका लागि बन्दी बनाउँछ । त्यो विषयमा पनि मैले केही चित्रकला पुरा गरेँ ।’
कलाकार एरिना ताम्राकारले लामो अवधि सिर्जनामै लाग्न पाउने चाहना लकडाउने पूरा गरिदिएको बताइन्। ‘मलाई दुईचार दिन दिनरातै चित्रकला गर्ने रहर थियो। दिनरातै काम नगरे पनि लकडाउनको बेला धेरै नै काम गर्न पाइयो। कामको हिसाबले सन्तुष्टि छ,’ उनले भनिन् ।
चिकित्सा क्षेत्रका पेसाकर्मीहरुले आफ्नो ज्यानको बाजी राखेर जनसेवा गरिहरहेका बेला घरै बस्नुपर्दाको भावना मात्र कलामा प्रस्तुत गर्न नहुने बोध भएकोे एरिनाले सुनाइन् ।
‘मलाई नर्स दिदीबहिनीको पीडाले एकदमै छोयो। कोरोना कहरको समाचार हेर्दा सुन्दा म आफू नर्सहरुको पीडामा बग्दै गएको अनूभत गरेँ। त्यो पीडालाई मैले चित्रकलामार्फत व्यक्त गरेकी छु,’ एरिनाले भनिन्।