काठमाडौं– नेपाल म्युजिक भिडियो निर्देशक समाजले म्युजिक भिडियोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल गर्ने भएको छ। प्रतिलिपि अधिकारको सुरक्षाका लागि कार्यविधि बनाएर सम्बन्धित पक्षहरुसँग सहकार्य गरी अघि बढ्ने गरि निर्णय भएको समाजका महासचिव सुव्रत राज आचार्यले बताए।
‘विश्वभर सार्वजनिक स्थानहरु जस्तै– क्याफे, रेष्टुराँ, बार तथा क्लबहरु, सार्वजनिक यातायात, एयरपोर्ट, बसपार्क, सार्वजनिक कन्सर्ट–कार्यक्रमहरु, हवाईजहाज लगायतमा नेपाली म्युजिक भिडियो देखाइन्छ। तर, त्यसबापत सर्जकहरुले प्राप्त गर्नुपर्ने बौद्धिक सम्पत्ति अन्तर्गतको अधिकार पाइरहेको अवस्था छैन। यसका लागि अब हामी पहल गर्छौं,’ उनले भने।
त्यस्तै, समाजले म्युजिक भिडियोलाई राज्य मातहत ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ। ‘म्युजिक भिडियोलाई पनि चलचित्र निर्माणको एक पाटोमा राख्नुपर्ने आवश्यकता छ। यसका लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्ने निर्णय पनि गरेका हौं,’ समाजका अध्यक्ष विधान कार्कीले भने।