एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टिम टोटेनहमले आर्सनललाई २–१ गोलअन्तरले हराएको छ। टोटेनहम हट्स्पुर रंगशालामा सम्पन्न खेलमा आर्सनल झिनो गोलअन्तरले परातिज भएको हो।
यता टोटेनहमको जितका लागि सन ह्युङ मिन र टोबे अल्डेरमेयर्डले गोल गरे। तर खेलको १६ औं मिनेटमा अलेक्जेन्डर लकाजेटले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।
यद्यपि आर्सनलले सो अग्रता लामो समय जोगाउन सकेन। १९ औं मिनेटमा सनको गोलमार्फत खेल बराबरीमा आयो। र, पहिलो हाफको खेल १–१ गोलको बराबरीमै सकियो।
दोस्रो हाफमा टोटेनहमले अर्को गोल थप्यो। ८१ औं मिनेटमा टोबेले गोल गर्दै घरेलु टिमलाई जित दिलाए। जितसहित टोटेनहम ५२ अंकका साथ आठौं स्थानमा छ। यता पराजित आर्सनल ५० अंकका साथ नवौं स्थानमा कायम छ।
चौथो स्थानको लेस्टर पराजित
गएराति नै सम्पन्न अर्को खेलम घरेलु टिम बर्नेमाउथसँग चौथो स्थानको लेस्टर सिटी ४–१ गोलअन्तरले पराजित बनेको छ। लेस्टरले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित बनेको हो।
पराजित लेस्टर ५९ अंकका साथ चौथो स्थानमा छ भने जितसहित ३१ अंक बनाएको बर्नेमाउथ रेलिगेसन जोनभन्दा बाहिर निस्कन सकेको छैन्।
ईपीएलमा आज म्यनचेस्टर युनाइटेडले घरेलु मैदानमा साउथह्याम्टनसँग खेल्दै छ। यदी युनाइटेडले जित निकाले ऊ अंकतालिकाको तेस्रो स्थानमा उक्लने छ।