बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि चाडपर्व लक्षित सुपथ पसल सञ्चालन, ६ करोडका खसीबोका किन्दै सरकार

आजदेखि चाडपर्व लक्षित सुपथ पसल सञ्चालन, ६ करोडका खसीबोका किन्दै सरकार

सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (असोज १ गते)देखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (असोज १ गते)देखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै छ।

नजिकिँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो।

कम्पनीले यस वर्ष दसैं तिहार छठ पर्व लक्षित सुपथ मूल्य पसलमा खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँका दरले छुट गर्ने भएको छ। मन्त्रालयको निर्देशन अनुसार कम्पनीले १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको हो। 

आगामी कार्तिक २४ सम्म सञ्चालनमा ल्याइने कम्पनीका सुपथ मूल्य पसलमा फापर, नुन, दाल, चामललगायतका खाद्यान्न पाइने छन्। भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छूट दिने कम्पनीले जनाएको छ ।

यस्तै सरकारले यस वर्ष दसैंमा ६ करोड रुपैयाँ बराबरका खसीबोका किनेर बिक्री गर्ने भएको छ। दसैंमा मासुको माग बढेर अस्वाभाविक मूल्य बढ्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि भन्दै सरकार आफैँले खसीबोकाको व्यापार गर्दै आएको छ। 
चाडपर्व लक्षित सुपथ मूल्य पसल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि सञ्चालनमा ल्याउने भएको छ। साल्ट ट्रेडिङले यस वर्ष सरकारले भन्सार छुटमा चिनी आयात गर्न अनुमति नदिएकाले चिनी आपूर्तिमा कठिनाई हुने गुनासो गर्दै आएको छ।

कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, नक्खु र सूर्यविनायक गरी चार स्थानबाट सुपथ मूल्य पसलको सुविधा दिनेछ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइन सपिङका प्लेटफर्म प्रयोग गरी घरघरमै सुपथ मूल्यमा खाद्यान्न दिने भएको छ।

गोगो २० एप र नेपाल फुड, सस्तो डिल नेपाल, मुकुन्डो नेपाल वेभ पोर्टलसँग सहकार्य गरी सुपथ मूल्यमा घरघरमै खाद्य वस्तु पुर्‍याउने कम्पनीले जनाएको छ। कम्पनीका गाडीबाट घरघरमै छुट मूल्यमै ढुवानी गर्ने व्यवस्था गरिएको छ।

६ करोड बराबरका खसीबोका किन्दै सरकार

यस्तै सरकारले यस वर्ष दसैंमा ६ करोड रुपैयाँ बराबरका खसीबोका किनेर बिक्री गर्ने भएको छ। दसैंमा मासुको माग बढेर अस्वाभाविक मूल्य बढ्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि भन्दै सरकार आफैँले खसीबोकाको व्यापार गर्दै आएको छ। 

'यस वर्षको दसैँमा करिब ६ करोड रुपैयाँ हाराहारीका खसी बोका खरिद गर्ने योजना खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बनाएको छ,' कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले भने, 'खसीबोका खरिदका लागि करिब ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ।'

मकवानपुर, दाङलगायतका जिल्लाबाट करिब ३ हजार खसीबोका खरिद गर्ने लक्ष्य लिइएको खनालले बताए। ‘सुपथ मूल्य पसल सञ्चालनका लागि मन्त्रालयले रकम विनियोजन गर्ने हो,’ उनले भने, 'खसीबोका किन्न भनेर ६ करोड छुट्याइएको छ।'

गत वर्ष कम्पनीले १ हजार ५०१ खसीबोका खरिद गरेर बिक्री गरेको थियो। गत वर्षको कोरोना महामारीका कारण योजना अनुसार खरिद बिक्री गर्न नसकिएको कम्पनीका अधिकारीहरुको भनाइ छ। गत वर्ष दसैंमा उक्त परिमाणमा खसीबोका खरिद गर्न २ करोड ८५ लाख रुपैयाँ खर्च गरिएको थियो। 

पछिल्लो समय कोरोना महामारीका कारण च्याङ्ग्राको कारोबार टुट्दै गएको छ। कम्पनीका नायब महाप्रबन्ध खनालले यस वर्षपनि च्याङ्ग्रा आपूर्ति नगरिने बताए।

कम्पनीले विभिन्न जिल्लाबाट खसीबोकाको मूल्य निर्धारण गरी खरिद गर्दै आएको छ। खरिद मूल्यमा काठमाडौंसम्मको ढुवानी भाडासहित जोडर मूल्य  निर्धारण गर्दछ। त्यसपछि प्रतिकेजी १० रुपैयाँका दरले छुट दिएर बिक्री गर्दै आएको छ। 

यसवर्षको दसैंमा पनि प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिइसकेको छ। मंगलबार मन्त्रालयका सचिव दिनेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले खसीबोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गर्ने निर्णय गरेको थियो। बैठकले आगामी १ असोजदेखि विभिन्न स्थानमा दसैंतिहार लक्षित सुपथ मूल्य पसलसमेत सञ्चालनमा ल्याउने निर्णयसमेत गरेको थियो।

कोरोनाले टुटाउँदै च्याङ्ग्रा कारोबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघिका वर्षहरुमा दसैंका लागि च्याङ्ग्रा समेत खरिद गरेर बिक्री गर्दै आएको थियो। तर, पछिल्लो समय कोरोना महामारीका कारण च्याङ्ग्राको कारोबार टुट्दै गएको छ। कम्पनीका नायब महाप्रबन्ध खनालले यस वर्षपनि च्याङ्ग्रा आपूर्ति नगरिने बताए।

‘माथिल्लो मुस्ताङमा चीनबाट च्याङ्ग्रा आउने रहेछ,’ उनले भने, ‘उपल्लो मुस्ताङका भेडीगोठमा यताको उता, उताको यता कारोबार हुँदो रहेछ। अहिले दुई वर्षदेखि कोभिडको कारणले त्यो कारोबार रोकिएको छ।’ 

मुस्ताङतिरै च्याङ्ग्रा आपूर्ति कम भएपछि काठमाडौंमा आपूर्ति गर्न कठिन हुने खनालको भनाई थियो। ‘प्रयास त गरिरहेका छौं,’ खनालले भने, ‘पोहोर साल पनि माग गरेजति च्याङ्ग्रा पाइएन।’

प्रकाशित: Sep 17, 2021| 07:45 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।