शुक्रबार, फागुन १५, २०८२

खै कालजयी गीत ?

अब गीतसंंगीतले नाम र दाम दुवै दिन थालेको छ। नेपाली डायस्पोरा विश्वभर फैलँदै गर्दा नेपाली संगीत पनि विस्तारित भएको छ।
 |  शनिबार, असार २७, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, असार २७, २०७७

विश्वभर नै सांगीतिक क्षेत्रमा युवा संगीतकर्मीले नयाँपन दिइरहेका हुन्छन्। नेपालमा पनि लोकगीत होस् वा पपगीत अथवा आधुनिक नै किन नहोस् युवा पुस्ताले संगीत सिर्जनामा नयाँनयाँ प्रयोग गरिरहेको छ।

National life

पछिल्लो समय रेकर्डिङदेखि वितरणसम्म विकसित प्रविधिले नेपाली सांगीतिक क्षेत्रको स्वरूपमा परिवर्तन हुँदै गएको छ। युवाको हातहातमा पुगेको स्मार्ट फोन र इन्टरनेटले गीतसंगीतलाई सर्वसुलभ बनाइदिएको छ।

टेलिभिजनमा प्रसारण हुने रियालिटी सोले नयाँ प्रतिभा जन्माएको छ। सुरको जादु चलाएर रातारात हिट हुने मोहले पनि नयाँ पुस्तालाई आकर्षित गरेको छ। सहरी क्षेत्रमा बिदाका बेला आफ्ना बालबालिकालाई गीतसंंगीतको साधना गर्न प्रेरित गर्ने अभिभावक बढेका छन्।

गीतसंगीतको क्षेत्र पहिलेको जस्तो ‘अनुत्पादक’ मानिने आमधारणा अब छैन।

कुनै बेला थियो, केही गिनेचुनेका बाहेक अरुले गीतसंगीतलाई मुख्य पेसा बनाउने अवस्था थिएन। अब गीतसंंगीतले नाम र दाम दुवै दिन थालेको छ। नेपाली डायस्पोरा विश्वभर फैलँदै गर्दा नेपाली संगीत पनि विस्तारित भएको छ।

Laxmi sunrise bank
kumari

निशान भट्टराई, प्रताप दास, अस्मिता अधिकारी, मेचु धिमाल, रवि ओड जस्ता रियालीटी सोबाटै उदाएका कलाकार बन्दाबन्दीका बेला समेत व्यस्त छन्।

निशान भट्टराई भन्छन्, ‘लकडाउनले स्टेज प्रोग्राम, मेला र महोत्सव भइरहेका छैनन् तर पनि नयाँ गीत रेकर्डिङ, संगीत साधना जस्ता काममा व्यस्त छु।’ बरु लकडाउनले साधना गर्न, नयाँ सिर्जना गर्न अवसर मिलेको उनी बताउँछन्।

रियालिटी सो ‘नेपाली तारा’ बाट संगीत क्षेत्रमा प्रवेश गरेकी इन्दिरा जोशी अहिलेकी हिट गायिका हुन्। पछिल्लो समय ‘नेपाल आइडल’ को जज बनेर थप चर्चा बटुलेकी उनी भन्छिन्, ‘अवसर त चाहिन्छ नै तर, साधनाले नै हो सफल बनाउने।’

यद्यपि, नयाँ पुस्तामा रातारात हिट हुने चाहनाले गर्दा दीर्घकालसम्म टिक्ने खालका सिर्जना कम आइरहेको जोशीको भनाइ छ। ‘तत्कालै चर्चित हुने, पैसा कमाउने चाहनाले गर्दा नयाँ पुस्ता बढी हतारमा देखिन्छ, जुन उनीहरुकै लागि समेत हानिकारक भइरहेको छ।’

युट्युबमा भ्युअर्स बढाउने, सामाजिक सञ्जालमा फलोअर्स गन्ने र विलासी जीवनको चाहना राख्ने गर्दा नयाँ पुस्ताका गीतसंंगीत रातारात चर्चित भएर उसैगरी हराउने गरेको जोशीको तर्क छ।

निरन्तर साधना, समर्पण र अनुशासनले नै उत्कृष्टता र दिगोपनतर्फ अगाडि बढाउने उनको बुझाइ छ। त्यही समर्पण र साधनाले नै अघिल्लो पुस्ताको गीतसंंगीत कालजयी हुन सकेको उनी बताउँछिन्।

इन्दिरा भन्छिन्, ‘त्यो योगदान र परम्परालाई युवापुस्ताले जोगाउनु आवश्यक छ। अघिल्लो पुस्ताले दिएको योगदानमा हामीले थप विकास गर्दै पछिको पुस्ताका लागि यो क्षेत्र उन्नत बनाउन सक्नुपर्छ।’

यद्यपि, कुनै पनि संगीत कालजयी हुनु वा नहुनुका पछाडि थुप्रै आधार हुन्छन्। हरेक युगको आफ्नै रीत हुन्छ, रोजाइ र प्रवृत्ति बेग्लै हुन्छ। त्यही युगको मागअनुसार नै सिर्जना हुन्छ । तर, केही सिर्जना यस्ता हुन्छन् जो युगान्तरसम्म चल्छन्, युगलाई बदल्ने ताकत राख्छन्। के त्यस्ता सिर्जना छन् त अहिलेको पुस्तासँग?

गायक निशान भट्टराई भन्छन्, ‘नेपाली गीतसंगीतको एउटा कालजयी इतिहास छ, हाम्रो पुस्ताको गीतसंगीत पनि कालजयी बन्ला कि नबन्ला अहिले नै भन्न सकिँदैन।’

अहिले सदाबहार भनिने खालका गीत निकै कम रहेको भट्टराई स्वीकार्छन्। यद्यपि, गीतसंगीतका क्षेत्रमा लाग्ने प्रतिभालाई पहिलेको जस्तो संंघर्ष गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। यही सहजताले पो कालजयी गीत बन्न नसकेका हुन् कि?

मिसमास जमाना

अहिले बजारमा मिश्रित गीतसंगीत चलेको छ। लोक र आधुनिक मिसिएका, पप र हिपहप मिसाइएका, पूर्व र पश्चिमका भाका मिश्रित गीतहरु चलिरहेका छन्।

त्यस्तै समय, स्थान र घटनाप्रधान गीत पनि चलिरहेका छन्। पशुपति शर्माको ‘लुट्न सके लुट...’ यसकै उदाहरण हो ।

गायक भट्टराई नेपाली संगीत भन्दाबित्तिकै सधैं गर्व गर्न सकिने अवस्था आउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘संगीत केका लागि भन्ने बहस फरक हुनसक्ला। तर, नेपाली संगीत नेपाल सरहदभित्र मात्र होइन, त्यसभन्दा परपरसम्म ‘नेपाली संगीत’ भनेर चिनिने हुनुपर्छ।’

अहिले डिजिटल प्रविधिको युगमा हरेक कुराको स्वाद क्षण क्षणमा परिवर्तन भइरहेको छ, मानिसको रुचि पनि बदलिँदो छ। ‘तर संगीतको पहिचानमा स्थायित्व हुनैपर्छ। जसले नेपाली मौलिक स्वाद देओस्,’ भट्टराई भन्छन्।

अहिलेको युगमा जोकोही पनि गीत संगीत रेकर्ड गरेर डिजिटल प्लेटफर्ममा राख्न स्वतन्त्र छ। त्यसैले प्रतिभा भएका सर्जकलाई गीत प्रसारणकै लागि वा पहिचान बनाउनकै लागि पहिलेजस्तो समस्या छैन।

गीतकार डा. कृष्णहरि बरालका अनुसार युवा पुस्ताको सहभागीताका आधारमा भन्ने हो भने अहिले गीतसंगीतको क्षेत्र निकै उर्वर छ। संख्यासँगै गुणात्मक सुधार पनि भएको छ। तर, यो संख्यात्मक विस्तार र सहजतासँगै साधना, समर्पण र सिर्जनशीलताको खाँचो बढेको छ।

प्रकाशित: Jul 11, 2020| 06:53 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्