कोरोना महामारीले ठप्प भएको क्रिकेट प्रतियोगिता हिजो (बुधबार)बाट औपचारिक रुपमा मैदान फर्कियो। इंग्ल्यान्डमा दिउँसो साढे ३ बजेबाट आयोजक टोलीले अफ्रिकन टिम वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने तय भए पनि प्रतिकूल मौसमका कारण केही समय ढिलो सुरु भयो।
खेल सुरु हुनुअघि साउथ ह्याम्टनमा हल्का वर्षा भइरहेको थियो। तर, केही समयपछि मौसम सफा बन्यो र खेल सुरु भयो। बुधबार सुरु भएको प्रतिस्पर्धामा आयोजक इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको छ।
ओपनिङमा इंग्ल्यान्डका रोरी बन्र्स र डोम सिबले आए। तर, ओपनर सिबले धेरै समय टिक्न सकेनन्। दोस्रो ओभरमा ब्याटिङ गरिरहेका सिबलेलाई चौथो बलमै बोल्ड आउट गर्दै सन्नोन गेब्रियलले पेवेलियन फर्काए। सिबलेले एक रन पनि जोड्न सकेनन्। उनी आउट हुँदा इंग्ल्यान्डको खातामा एक रन पनि थिएन।
त्यसपछि ब्याटिङमा आएका जोय डेनलेले ४८ बलमा १४ रनको योगदान दिइसकेका छन्। उनले तीन चौकासमेत प्रहार गरे। त्यस्तै, ओपनर बन्र्सले ५५ बलमा समान तीन चौका प्रहार गर्दै २० रनको योगदान दिएका छन्।
प्रतियोगितामा जम्मा १०७ बल प्रहार भएकोमा इंग्ल्यान्डलाई ३५ रन प्राप्त भएको छ। यो १.९८ को रनरेट हो। प्रतियोगिताअघि इएसपीएन क्रिकइन्फोका सम्बाददाताले जर्ज डोबलेले ५० ओभरको खेल हुने अनुमान गरेको भए पनि सो हुने सकेन। १७.४ ओभरमै खेल रोकियो। टेस्टको बाँकी खेल आज फेरि सुरु हुनेछ। हिजोबाट सुरु पहिलो टेस्ट आउँदो १२ जुलाईसम्म चल्ने छ।
हिजोबाट सुरु भएको खेलमा धेरै कुराहरु प्रतिबन्धित थिए।
अरुवेला जस्तो खेलाडीले अम्पायरलाई जर्सी, चस्मा, क्यापलगायतका सामान बोक्न दिएनन्। मैदानमा सकेसम्म कम थुक्नुपर्ने थियो, खेलाडीले सकेसम्म नियम पालना गरे। एकै बोतलको पानी धेरै जनाले प्रयोग गरेनन्। बल समाइसकेपछि सेनिटाइजनरले हात सफा गरे। बल चम्काउन थुकको प्रयोगमा त पूर्ण बन्देज छ। जसकारण खेलाडीले पसिना र मैदानको दुवोमा रहेको पानीको प्रयोग गरेर बल चम्काए।
सबैभन्दा महत्त्वपूर्ण कुरा त खेल खाली रंगशालामा हुँदै छ। साथै मैदानबाहिर पनि प्रशिक्षक र खेलाडीलाई सामाजिक दूरी बनाउन भनिएको छ। अझ भनौँ, सेलिब्रेसन पनि सामाजिक दुरी कायम गरेर मनाइँदै छ। अनावश्यक बल हातमा नलिने र बल छोएपछि नाक, कान, मुखतिर हात नलैजान खेलाडीलाई चिकित्सकको सुझाव छ।
अम्पायरले ग्लोब्स लगाउने भनिए पनि रिकार्ड एलिनवर्थले ग्लोब्स लगाएनन्।
यता ११५ दिनपछि मैदान फर्किएको खेलमा इंग्ल्यान्डका नियमित टेस्ट कप्तान जोय रुट उपस्थित रहेनन्। उनी पत्नीको स्वास्थ्य अवस्थाका कारण घरमै रहे। साउथ ह्याम्टनमा प्रतिकूल मौसमका कारण ढिलो सुरु भएको खेलमा बेन स्टोक्सले इंग्ल्यान्डको कप्तानी सम्हालेका छन्।
त्यस्तै, वेस्ट इन्डिजको कप्तानीको भूमिकामा जेसन होल्डर छन्। इंग्ल्यान्डमा जारी तीन शृंखलाको दोस्रो खेल जुलाई १२–१६ मा हुने छ भने अन्तिम वा तेस्रो खेल यही महिनाको २०–२४ मा हुनेछ। दोस्रो र तेस्रो खेलमा भने कप्तान जोय रुट खेलमा फर्कने छन्।
एजेन्सी