एजेन्सी– स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिएनले ला लिगाको जारी सिजन बार्सिलोनाले जित्ने दाबी गरेका छन्। उनले लिग जित्नेमा आशावादी हुँदै जारी सिजनको विजेता आफैं हुने दाबी गरेका हुन्।
लिगमा चार खेल बाँकी रहँदा अंक तालिकामा बार्सिलोना शीर्षस्थानको रियल मड्रिडभन्दा ४ अंक पछि छ। त्यसमाथि रियल मड्रिडलाई हेड–टू–हेडको फाइदा पनि छ। अंक बराबरी भएमा लिग रियलले जित्नेछ।
बार्सिलोनाले गएको बुधबार आफ्नै मैदानमा एस्पानोयललाई हराएपछि भने जितको लयमा फर्किएको छ। त्यसअघि दुई खेलमा ४ अंक गुमाएको बार्सिलोनाले अहिले रियल मड्रिडलाई दबाब बढाएको छ।
यसबीच सेटिएन भन्छन्, ‘अवश्य पनि हामीले लिग जित्नेछौं। यो सत्य हो र गणितले पनि प्रमाणित गर्छ। यो सजिलो छैन तर हामीले अन्तिम दिनसम्म पनि आशा कायम राख्नुपर्छ। हामीले आफ्नोबारे पनि सोच्नुपर्ने हुन्छ र सबै खेल जित्दै जानुपर्छ। त्यसमा नै हाम्रो प्रगति छ।’
बार्सिलोनाका लागि ला लिगाका साथै च्यम्पियन्स लिगमा पनि राम्रो प्रदर्शन गर्न दबाब छ। त्यसैले सेटिएन अर्को प्रतियोगिताका लागि पनि उत्तिकै तयारी गरिरहेको बताउँछन्।
पछिल्लो समय बार्सिलोनामा सेटिएनको अवस्था गिर्दो रुपमा चित्रण गरिएको छ। तर भिल्ला रियललाई ४–१ गोलअन्तरले जितेपछि भने उनी क्बलमा केही ढुक्क हुन सकेका छन्।
‘मलाई कुनै कुराहरु एक्कासी परिवर्तन हुन्छन् जस्तो महशुस भएको छैन,’ सेटिएनले प्रष्ट्याए, ‘म फुटबलको कुन स्थानमा छु, राम्ररी थाहा छ। र, मेरो काम गरिरहेको राम्ररी गरिहेको छु। क्लबमा मेरो रकेर्ड सबैले मन पराउने किसिमका रहेको छ। तर म खेलमा जित–हार भन्दा पनि खेलाडीको सेन्टिमेन्टमा ध्यान दिन्छु।’
यता, केही दिनअघिबाट स्पेनमा भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) लाई लिएर विवाद उछालिएको छ। एथ्लेटिक क्लबविरुद्ध रियलले पाएको पेनाल्टीलाई इंगित गर्दै बार्सिलोनाले रियललाई भीएआरले सपोर्ट गरेको आरोप लगाएको छ। त्यो खेलमा रियलका रामोसले पेनाल्टीमार्फत् गोल गर्दै १–० गोलको जित दिलाएका थिए।
यसैबारे बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बर्तोमेउल पनि भीएआरले रियललाई फेवर गरेको आरोप लगाए। ‘कसैले आफ्नो विचार प्रस्तुत गर्नु नराम्रो हो जस्तो मलाई लाग्दैन,’ सेटिएनले अध्यक्षको भनाइको बचाउ गर्दै भने, ‘हामी सबै आफ्नो विचार राख्ने काम सम्मानका साथ गर्छौं। बर्तोमेउले पनि त्यही गरेका हुन्।’
तर सेटिएन आफैंले भने भीएआरले रियललाई फाइदा भएको वा नभएकोबारे टिप्पणी गर्न अस्विकार गरेका छन् ।