काठमाडौं– काठमाडौं महानगरपालिकाले नेपाली फुटबल अन्तर्गत ए डिभिजन सबै क्लबलाई १०–१० लाख रुपैयाँ सहयोग गरेको छ। शीर्ष डिभिजनका सबै ६ क्लबलाई महानगरले सहयोग गरेको हो।
महानगरका मेयर विद्यासुन्दर शाक्यले सोमबार सबै क्लबलाई रकम हस्तान्तरण गरेका हुन्। ‘क्लबलाई आर्थिक सहयोग होस् भनर हामीले रकम प्रदान गरेका हौँ। यो फुटबलको समग्र विकासका लागि हो। यसले क्लबको समस्या समाधान गर्नका लागि सहयो गर्नेछ,’ मेयर शाक्यले भने।
काठमाडौं अन्तर्गतका न्युरोड टिम (एनआरटी), मछिन्द्र क्लब, सरस्वती युथ क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब रहेका छन्। जसले गएको सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए।
महानगरपालिकाले काठमाडौंका शीर्ष डिभिजन क्लबलाई वार्षिक १० लाख रुपैयाँ उलब्ध गराउँदै आएको छ। उसले बी डिभिजनका क्लबलाई तीन लाख र सी डिभिजनका क्लबलाई २ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।